मनोज संजेलको कबिता ‘सरकारी सेवाको तयारी’

मनोज संजेलको कबिता

पास गर्छु, भन्दा भन्दै गर्न सकिन्न ।
निजामती जागिर नखाई छोडन सकिन्न ।
परिश्रम, कोसिस नगरेको हैन ।
संघ र ७ प्रदेशको परीक्षाको प्रयास नगरेको हैन ।
हरेक दिन हरेक रात बेरोजगारीको आगोमा नजलेको हैन ।।

मन भित्र बाहिरका शत्रुहरू पन्छाएर अघि नबढेको हैन ।
लोक सेवा आयोग पास गर्ने होडबाजीमा हरेक रात निन्द्रासँग समझौता नगरेको हैन ।
तर लोक सेवाको पाठ्यक्रम गिर्खाबाट ठूला ठूला पहाड बन्दै गएको छ ।

उता परिवारको कर्जा र चुनौतीहरू हिमालझैं अग्ला अग्ला बन्दै गएको छ ।
सायद यही अवस्थाले अब यहाँ भन्दा निजामती तिर पर्न सकिन्न ।
पास गर्छु भन्दा भन्दै पनि अब पास गर्न सकिन्न ।
यता लोक सेवा पढाउने सरहरूको आशा छ, लोक सेवा छोड्न सकिन्न ।

यति सम्म बित्यो समय बिना जागिरको अब झन् लोक सेवा नखाई छोड्न सकिन्न ।
हार खाएर कैयो पटक हातमा डोरी नलिएको हैन ।
बाली बिरूवा बचाउने एग्रोभेटबाट मर्ने अमृत नकिनेको पनि हैन । तर घाँटीमा डोरी बेर्नु अगाडि सोच्छु, मलाई

काठमाडौं पढाउने आमाले घाँटीको सुन किन बेचेकी होलिन्?
मर्ने अमृत पिउन अगाडि सोच्छु, बाबाले चर्को घाममा हरेक दिन खुन पसिना कसका लागि बगाएका होलान्?
म माथि परिवारले आश गरेको छ, मर्न सकिन्न ।

यत्रो समय लोक सेवाको लागि बिताए अब छोड्न सकिन्न ।
यी तमाम कुरा सोच्दा सोच्दै आँखा रसाउँछ ।
यी सबै पीडाले मेरो मुटु जलाउँछ ।
आफूले आफैंलाई सम्झाउँदै भन्छु, के छ यो लोक सेवा जुनमा नाम निकाल्न सकिन्न? अरे यो दुनियाँमा के जो छ र जुन गर्न सकिन्न?

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार