बुटवलमा एमाले र रास्वपाका कार्यकर्ताबिच झडप

काठमाडौँ । रुपन्देहीको बुटवलस्थित नमोबद्ध होटलमा नेकपा (एमाले)का कार्यकर्ताले पैसा बाँडेको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूमाथि आक्रमण गरेका छन् ।

आक्रमणबाट रास्वपामा आबद्ध सैनामैनाका पूर्वमेयर चित्र बहादुर केसीसहित ३ जना घाइते भएका छन् । रुपन्देही क्षेत्र नम्बर–२ बाट चुनाव लडेका रास्वपाका उम्मेदवार सुलभ खरेल बसेको होटलमा एमाले कार्यकर्ता पुगेर ‘पैसा किन बाँडेको ?’ भन्दै पुगेका थिए ।

एमालेमा आबद्ध बाबुराम पन्थी सहितको समूह र रास्वपाका कार्यकर्ताबिच झगडा भएको प्रहरीको भनाइ छ । होटलमा झगडा भएको रुपन्देहीका एसपी जनक शाहीले  बताए । उनले भने, ‘झगडा गर्नेहरूको पहिचान भएको छ, उनीहरूलाई हामी कानुनी दायरामा ल्याउँछौँ ।’

रास्वपाको तर्फबाट समानुपातिक उम्मेदवार मञ्जु भुसालले भने बैठक बसिरहेको बेलामा एमालेका कार्यकर्ताले आक्रमण प्रयास गरेको बताएकी छन् । उनले भनिन्, ‘हारको मानसिकताले एमालेका कार्यकर्ताहरू आक्रमणमा उत्रिएका हुन् ।’

यता बुटवलका एक स्थानीय तथा व्यवसायीले रास्वपाका मान्छेहरू होटलमा बसेर पैसा बाँड्ने योजनाले आएका र उति नै बेला एमालेका कार्यकर्ताहरू आएपछि झडप भएको बताएका छन् । आफूलाई प्रत्यक्षदर्शीसमेत भएको बताएका उनले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘पैसा लिएर आएका थिए । बाँड्न चै भ्याएनन् । झोला लिएर भागे । उनीहरू योजनाबद्ध तरिकाले आएका थिए ।’ आफूभन्दा मात्र १०० मिटर अगाडि उक्त घटना भएको र भिडियो खिच्ने सुरसार गर्दा गर्दै पैसाको झोला लिएर एक व्यक्ति भाग्न सफल भएका उनले  बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार