काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम छ महिनामा वीरगञ्ज भन्सारबाट चार अर्ब ५६ करोड रुपैयाँ बराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् ।
ती सवारी साधनको आयातबाट चार अर्ब ४३ करोड रुपैयाँ राज्यकोषमा दाखिला भएको छ । गत आवको सोही अवधिमा तीन अर्ब ३८ करोड रुपैयाँ बराबरका २५ हजार ८५७ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पहिलो छ महिनामा ४५ करोड ८१ लाख रुपैयाँ बराबरका चार हजार ५६७ वटा मोटरसाइकल आयात भएको छन् । गत आवको सोही अवधिमा २० करोड ७६ लाख रुपैयाँ बराबरका दुई हजार १९२ वटा मोटरसाइकल आयात भएका थिए ।
यसैगरी, चालु आवको पहिलो छ महिनामा ५८ करोड १८ लाख रुपैयाँ बराबरका चार हजार ५९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् । गत आवको सोही अवधिमा रु ३० करोड ९६ लाख बराबरका दुई हजार २१८ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए ।
















