भानु जयन्तीको अवसरमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न

भक्तपुर । ११३ औं भानुजयन्तीको अवसरमा भक्तपुर नगरपालिका वडा नं १ को आयोजनामा विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिताको प्रमाणपत्र तथा पुरस्कार वितरण कार्यक्रम आइतबार सम्पन्न भयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले प्रतियोगिताका विजेता र सहभागी विद्यार्थी र विद्यालयहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले साहित्यिक रचनाहरु सरल र सहज हुनुपर्ने बताउँदै जनताको भाषा बोल्ने ‘जनताको साहित्य’ आजको आवश्यकता हो भन्नुभयो ।

विद्यार्थीहरुलाई साहित्यकारहरुको जीवनी अध्ययनमा जोड दिन प्रेरित गर्दै उहाँले एकजना साहित्यकारको विचार बन्दुकको गोलीभन्दा पनि शक्तिशाली हुने धारणा राख्नुभयो ।

प्रमुख प्रजापतिले साहित्यको हरेक शब्दमा समाजको सेवाभाव, देश प्रेम र परिवर्तनकारी सोचको आवश्यकता औंल्याउँदै कुनै पनि विषयमा सफलता प्राप्त गर्न त्यस विषयमा पोख्त हुने गरी ज्ञान हासिल गर्नुपर्छ भन्नुभयो ।

कल्पनाशीलता र समय व्यवस्थापनले विद्यार्थीलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले विद्यार्थीलाई समाजको असल र प्रेरणादायी पात्र बन्न मार्गनिर्देश गर्नुभयो ।

कार्यक्रमका सभापति भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले साहित्यलेखनतर्फ विद्यार्थीलाई अभिप्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बताउनुभयो । विद्यार्थीलाई किताबी ज्ञानसँगसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउनु आवश्यक भएको बताउँदै विद्यार्थीमा लुकेका प्रतिभा उजागर गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

निर्णायकद्वय सूर्यराम श्रेष्ठ र आशाकुमार चिकंबन्जारले विद्यार्थीको साहित्यबाट आफूहरु प्रभावित भएको बताउँदै प्रतियोगिताले राम्रा राम्रा कविता सिर्जना गर्न सघाउ पु¥याएको बताउनुभयो । उहाँहरुले साहित्यकार बन्न अध्ययन गर्न जरुरी रहेको र व्यापक दृष्टिकोण, विषयवस्तुबारे जानकारी हासिल गरी सत्यको पक्षमा आवाज उठाउन प्रेरित गर्नुभयो ।

कार्यक्रममा वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले प्रतियोगितामा सहभागी विद्यालय र विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्दै वडाले आगामी दिनहरुमा पनि यस्तै विविध गतिविधिहरु सञ्चालन गर्दै जाने विचार व्यक्त गर्नुभयो ।

विद्यालयस्तरीय कविता लेखन प्रतियोगिताअन्तर्गत कक्षा ५ सम्म छात्रतर्फ ज्ञानविजय आविका विपन खत्री प्रथम, गणेश माविका निकेश भुजेल द्वितीय, सन्तति आविका दिपांशु श्रेष्ठ तृतीय भएका थिए भने छात्रातर्फ सूर्यविनायक स्कूलका बिहानी तामाङ प्रथम, सनसाइनका पल्लवी कार्की द्वितीय र सेरफ वल्र्डका विविध भट्टराई तृतीय भएका थिए ।

कक्षा ६, ७ र ८ छात्रतर्फ गणेश माविका असरव मुहवत प्रथम, सन्नति आविका संसार अधिकारी द्वितीय र ज्ञानविजयका जीवन चौधरी तृतीय भएका थिए भने छात्रातर्फ ज्ञानविजय स्कूलका जस्मिन क्षेत्री प्रथम, सन्नति स्कूलका एलिसा गौतम द्वितीय र सूर्यविनायक स्कूलका विनिसा भट्टराई तृतीय भएका थिए ।

माध्यमिक विद्यालयतर्फ गणेश माविका प्रज्ज्वल तामाङ प्रथम र गणेश माविकै स्मृति मानन्धर द्वितीय भएका थिए ।

कक्षा ५ सम्म पाठ्यपुस्तकको कविता वाचन, कक्षा ६ देखि ८ सम्म “सांस्कृतिक नगर भक्तपुर” विषय तथा कक्षा ९र१० को प्रगतिशील र देशभक्तिको विषयमा कविता लेखन सहित वाचन भएको उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं १ का ४ सामुदायिक र ४ संस्थागत विद्यालय गरि ८ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार