पाल्पामा टिपर दुर्घटना

दुर्घटना

पाल्पा । पाल्पामा शनिबार बेलुकी टिपर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-४ सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनार रहेका छन्। अन्य दुईजनाको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए।

तानसेन नगरपालिका-१० पटुवाका ३३ वर्षीय राजन चिदी गम्भीर घाइते भएका छन्।

माथागढी गाउँपालिकाको झडेवाबाट रहबास चुन ढुंगा खानीतर्फ जाँदै गरेको लु२ख ४५२५ नम्बरको टिपर माथागढी गाउँपालिका-७ रहबास स्थित झडेवा रहबास भित्री कच्ची सडकखण्डमा आज बेलुकी ६ बजे दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदा चिकित्सकले तीनजनालाई मृत घोषणा गरेका प्रनाउ चौधरीले बताए। अर्का एक गम्भीर घाइतेको यहीँ उपचार भइरहेको छ।

टिपर सडकभन्दा ५० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार