काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नैतिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले टिकटकले निर्वाचन आयोग, नेपाल (ECN) सँग एक समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेको छ । आज आयोग परिसरमा आयोजित कार्यक्रममा उक्त समझदारीपत्र आदान–प्रदान गरिएको हो ।
यस सहकार्य अन्तर्गत टिकटकको प्रतिनिधिमण्डलले निर्वाचन नैतिकता सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला समेत सञ्चालन गरेको थियो । कार्यशालामा जिम्मेवार डिजिटल सहभागिताको प्रवर्द्धन, भ्रामक सूचनासँग जुध्ने उपाय र सरोकारवालाहरूबीच निर्वाचनको गरिमा सम्बन्धि बुझाइ सुदृढ गर्ने विषयमा छलफल गरिएको थियो ।
आसन्न आम निर्वाचनलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त कार्यशालामा आयोगका पदाधिकारीहरूलाई टिकटकले आफ्नो प्लेटफर्मले निर्वाचन प्रक्रियाको संरक्षण कसरी गर्छ भन्नेबारे जानकारी गराएको थियो । यस क्रममा टिकटकका सामुदायिक निर्देशिका, भ्रामक सूचना(misinformation), राजनीतिक सामग्री तथा भ्रामक व्यवहारसम्बन्धी नीतिहरूबारे प्रस्तुति दिइएको थियो ।
साथै, प्रयोगकर्ताले विश्वसनीय सूचना पहुँच गर्न, सम्भावित उल्लङ्घनबारे जानकारी गराउन र निर्वाचनसम्बन्धी सामग्री प्लेटफर्ममा कसरी व्यवस्थापन गरिन्छ भन्ने बुझ्न सहयोग गर्ने टिकटकका उपकरण तथा सुविधाबारे पनि जानकारी गराइएको थियो ।
“डिजिटल प्लेटफर्मको जिम्मेवार प्रयोग र निर्वाचन नैतिकता प्रवर्द्धनका लागि टिकटकसँगको यो सहकार्यलाई निर्वाचन आयोग स्वागत गर्दछ । यस्ता सहकार्यहरूले भ्रामक सूचना (misinformation) बारे सचेतना अभिवृद्धि गर्न र निर्वाचन प्रक्रियामा सचेत सहभागितालाई टेवा पुर्याउँछन्,” निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले भने ।
टिकटकले निर्वाचन नैतिकता सुदृढ गर्न र नेपाली समुदायका लागि विश्वसनीय सूचनाको वातावरण बनाउन आयोग तथा अन्य सरोकारवालासँगको निरन्तर रूपमा सहकार्य गर्नेछ । विश्वव्यापी प्लेटफर्मका रूपमा प्रयोगकर्ताको विश्वास कायम राख्न, भ्रामक सूचना (misinformation) को जोखिम कम गर्न र स्वस्थ प्रतिष्पर्धालाई प्रवर्द्धन गर्न निर्वाचनको नैतिकता सुनिश्चित गर्नु अत्यावश्यक छ ।
टिकटकका नीतिहरू तथा उपलब्ध स्रोतसामग्रीबारे थप जानकारीका लागि टिकटक Global Elections Integrity Hub अवलोकन गर्न सकिन्छ।
टिकटक छोटो अवधिको मोबाइल भिडियोका लागि अग्रणी प्लेटफर्म हो। यसको उद्देश्य सृजनात्मकतालाई प्रेरित गर्नु र आनन्द प्रदान गर्नु हो । टिकटकका लस एन्जलस, न्युयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, सिङ्गापुर, जकार्ता, जोहान्सबर्ग, सिओल र टोकियो लगायत विश्वभरका सहरहरूमा कार्यालयहरू छन् ।
















