काठमाण्डौ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।
मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।
महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।
बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झण्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।











