रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका ७ मा अन्तर टोलस्तरीय क्रिकेट, भलिबल र फुटबल प्रतियोगीता हुने भएको छ । सैनामैना नगरपालिका वडा नम्बर ७ देउवापारको आयोजनामा अन्तर टोल स्तरीय विविध खेलकुद कार्यक्रम हुन लागेको हो ।
वडाले आज एक सूचना जारी गर्दै (भोलि) शुक्रबार दिउँसो ३ बजेसम्म टिम दर्ता गराउन भनेको छ । प्रतियोगिता माघ १२ गते शनिबार देखि १९ गतेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ ।
सैनामैना नगरपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बजेटबाट आयोजना हुने विविध खेलकुद कार्यक्रम अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने छ ।
त्यस्तै, पुरुष तथा महिला भलिबल प्रतियोगिता रामनगर टोलको खेलमैदानमा र पुरुष फुटबल सरस्वती मा.वि.को खेल मैदानमा हुने वडा नम्बर ७ का वडाध्यक्ष राजकुमार चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन सत्र रामनगर टोलको भलिबल खेल मैदानमा १२ गते बिहान ११ बजे हुने बताइएको छ ।
पुरुष क्रिकेट प्रतियोगिता प्रति इनिङ्स १५ ओभरको खेलाइने तर फाईनल खेल २० ओभरको खेलाइने वडाले जारी गरेको सूचनामा उल्लेख छ । क्रिकेट प्रतियोगितामा अतिरिक्त सहित १५ जना खेलाडी हुनुपर्ने र खेल आईसीसीको नियमअनुसार खेलाइने छ । खेलमा टेनिस बलको प्रयोग हुने बताइएको छ ।
त्यस्तै, महिला तथा पुरुष भलिबल प्रतियोगिता एन.भी.ए.को नियमअनुसार खेलाइने र अतिरिक्त खेलाडी सहित टोलीमा ९ जना हुनुपर्ने सूचनामा उल्लेख छ ।
फुटबल प्रतियोगिता फिफाको नियमअनुसार खेलाइने र अतिरिक्त खेलाडी सहित टोलीमा १५ जना हुनुपर्ने बताइएको छ ।
क्रिकेट प्रतियोगिताको बिजेताले ८ हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले ६ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरुष तथा महिला भलिबल प्रतियोगिताको बिजेता टोलीले ६ हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेताले ४ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै, फुटबल प्रतियोगितामाको बिजेताले ८ हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले ६ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जारी सूचनामार्फत जानकारी गराइएको छ ।