सुरक्षित रूपमा काठमाडौं आइपुगे फ्लाइङ ट्याक्सी

सुरक्षित रूपमा काठमाडौं आइपुगे फ्लाइङ ट्याक्सी

काठमाडौं । १७ औं संस्करणको नाडा अटो शो आउँदो भाद्र ३ देखि ८ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । भृकुटीमण्डपको प्रदर्शनी हलमा हुन लागेको यस पटकको अटो शो मा फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स मुख्य आर्कषण रहेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले जनाएको छ ।

अटो शो को अन्तिम तयारीमा रहेको नाडाले शनिबार (आज) एक विज्ञप्ति जारी गर्दै शो को मुख्य आर्कषण रहेका डिपाल eVTOL फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स सुरक्षित रुपमा काठमाडौं आइपुगेको जनाएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ “तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै, नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल गर्वका साथ घोषणा गर्दछ कि भविष्यको मोबिलिटी प्रतीक डिपाल eVTOL फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स अब सुरक्षित रूपमा काठमाडौं आइपुगेका छन् ।”

साथै, यी अति उच्च प्रविधिहरू पहिलोपटक नेपालमा सार्वजनिक प्रदर्शनको लागि तयार रहेको र यस ऐतिहासिक क्षणलाई नाडा अटो शो २०२५ मार्फत दर्शकहरूले प्रत्यक्ष अनुभव गर्ने बताइएको छ ।

१७औं संस्करणको नाडा अटो शो केवल एउटा प्रदर्शनी मात्र नभई देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण रहेको नाडाले जनाएको छ । यसले नेपालमा प्रविधिको नयाँ सम्भावनालाई उद्घाटन गर्ने पनि विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार