
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम शक्रबारदेखि रूपन्देहीमा सुरु भएको छ । लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको दुईदिने कार्यक्रम शनिबारसम्म चल्ने छ । प्रशिक्षणको मुख्य उद्देश्य पार्टी सङ्गठनलाई पालिकास्तरसम्म विस्तार गर्नु र सङ्गठन बलियो बनाउनु रहेको आयोजकले जनाएको छ ।
पार्टीको केन्द्रीय प्रशिक्षण विभाग प्रमुख तथा सहमहान्त्री विपिनकुमार आचार्यका अनुसार सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना छ । यसअघि बागमती र कोशी प्रदेशमा प्रशिक्षण सम्पन्न भइसकेको छ । यस पटक लुम्बिनी प्रदेशमा आयोजना गरिएको हो । बाँकी प्रदेशमा क्रमशः कार्यक्रम सञ्चालन गरिने छ । प्रदेश र केन्द्रका नेता तथा कार्यकर्तालाई भेला गर्न रुपन्देही उपयुक्त स्थान भएकाले यहाँ प्रशिक्षण आयोजना गरिएको हो ।
आचार्यले स्थापना भएको तीन वर्षमा सदस्य सङ्ख्या बढ्दै गएपछि पार्टीका आधिकारिक दस्ताबेज, नीति र कार्यक्रम तथा केन्द्रका परिकल्पनालाई तल्ला तहसम्म पु¥याउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीका तल्ला कमिटी प्रशिक्षित भएमा हाम्रा नीति, कार्यक्रम र उद्देश्य जनतासम्म सहजै पुग्छन् ।”
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले भन्नुभयो, “उपनिर्वाचनकेन्द्रित नभएर पनि प्रशिक्षणले पार्टीको नीति र दृष्टिकोण स्थानीय तहसम्म पु¥याउन सहयोग गर्छ । प्रशिक्षणमार्फत सबै पालिकामा सङ्गठन विस्तार गर्ने, पार्टी बलियो बनाउने र कार्यक्रम जनतासम्म पु¥याउने लक्ष्य राखिएको छ ।”
प्रशिक्षणमा केन्द्रले दिनुपर्ने जानकारीबाहेक तल्ला तहबाट केन्द्रलाई अपेक्षित सुझाव सङ्कलन गर्ने व्यवस्था गरिएको छ । लुम्बिनी प्रदेश सभापति देवराज पाठकले प्रशिक्षणमा स्थानीय तह, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशका पदाधिकारीसहित करिब २५० जना सहभागी भएका जानकारी दिनुभयो ।