काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले साढे दुई घण्टासम्म बत्ती गएको लोडसेडिङ नभई प्राविधिक कारण रहेको बताएका छन् ।
शाक्यले पत्रकार सम्मेलन गर्दै प्रसारण लाइन सञ्जाल द्रुत गतिमा बढाउँदै लान नसके हिजो बिहीबार रातिको जस्तो सानो–सानो घटनामा पनि विद्युत् आपूर्ति प्रभावित हुने बताएका हुन् ।
‘हिजो राति मैले साढे २ घण्टा कन्ट्रोल रुममा बसेर सबै हेरेँ । अब हामी हिजोभन्दा उत्कृष्ट काम गर्छौं ।,’ उनले भने, ‘यसमा कसैले पनि चिन्ता लिनुपर्दैन, प्रणालीलाई अझै सुधार गर्दै लान्छौं ।’
प्राधिकरणको स्युचाटार सबस्टेसनमा आयोजित्र पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक शाक्यले प्रसारण लाइन सञ्जाल अब पनि तीव्र गतिमा विस्तार गर्दै नलगे साह्रै ठूलो समस्या, संकट, दुर्घटना निम्तिन सकिने बताए ।
‘सिस्टमले नधानेका कारण विद्युत् आपूर्ति प्रभावित भएको हो,’ कार्यकारी निर्देशक शाक्यले भने, ‘माग र आपूर्तिलाई सन्तुलनमा ल्याउन पनि प्रसारण लाइन पूर्वाधार बढाउँदै जानुपर्छ ।’
कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको पूर्वाधार, उपकरण र नेटवर्कको कमजोरीले विद्युत् आपूर्तिमा समस्या आइरहेको दाबी गरे ।
















