नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बुकिङ खुल्ला

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ‘नेपाल मोबिलिटी एक्सपो, २०२५’ को स्टल बुकिङ खुला गरेको छ ।

नाइमाले आउँदो साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा हुने अटो एक्सपोको बुकिङ आजदेखि (वैशाख २२) देखि खुला गरेको हो ।

सो एक्सपोमा सहभागिता जनाउने इच्छुक व्यक्ति–कम्पनीहरूले आफूले चाहेको स्टल लिनका लागि वैशाख २९ गतेसम्म आवेदन दिन सक्ने नाइमाले जनाएको छ ।

नाइमाका अनुसार काठमाडौंको भृकुटीमण्डमा आयोजना हुने उक्त मोबिलिटी एक्स्पोका लागि स्टलको बाँडफाँट गोलप्रथाबाट गरिने छ । मोबिलिटी एक्स्पोमा दुईपाँग्रे, चारपाँग्रे तथा हलुका व्यावसायिक सवारी साधनहरु एउटै हलमा प्रदर्शन गरिने छ ।

उक्त प्रदर्शनीले अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सबैमा ऊर्जा प्रदान गर्ने नाइमाको विश्वास छ ।

मोबिलिटी एक्स्पोमा विभिन्न ब्राण्डका दुईपाँग्रे, चारपाँग्रे, कमशिर्यल सवारीसाधन, अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ ।

नाइमाकी संस्थापक अध्यक्ष रितु सिंह वैद्यले मोबिलिटी एक्स्पोले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अगाडि बढाउने बताइन् ।

‘नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ’ नाइमाकी संस्थापक अध्यक्ष रितु सिंह वैद्यले भनिन् ।

सदस्य कम्पनीहरू र उद्योग सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र प्लेटफर्म प्रदान गर्न नाइमाले काम गरिरहेको बताउँदै रितु सिंहले प्रदर्शनीमा भाग लिने कम्पनीहरूलाई एउटा अन्तराष्ट्रिय स्तरको प्रदर्शनीको अनुभव गराउन संस्था प्रयासरत रहेको पनि उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार