आदिल माथिको प्रतिबन्ध फुकुवा

आदिल माथिको प्रतिबन्ध फुकुवा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहमद आदिल आलममाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको प्रतिबन्ध फुकुवा भएको छ ।

क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै आदिलमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लगाइएको प्रतिबन्ध फुकुवा गरेको हो ।

आदिललाई २०७९ पौषमा भएको नेपाल टि२० लिगका दौरान स्पट फिक्सिङको आरोप लागेपछि क्यानले प्रतिबन्ध लगाएको थियो । क्यानको इन्टिग्रिटी युनिटले आवश्यक छानविन गरेर बुझाएको प्रतिवेदन अनुसार प्रतिबन्ध फुकुवा गरेको विज्ञप्तिमा उल्लेख छ ।

आदिल अब राष्ट्रिय टोलीमा फर्कन बाटो खुलेको छ । मध्यम गतिमा बलिङ गर्ने अलराउन्डर आदिल आक्रामक ब्याटिङका लागि परिचित छन् । उनी राष्ट्रिय टिमका नियमित सदस्य थिए ।

फिक्सिङको आरोप लागेका क्रिकेटर महबुब आलम र आदिलले काठमाडौं जिल्ला अदालतबाट भने यसअघि नै सफाइ पाइसकेका थिए । उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विभिन्न आरोप सहित मुद्दा दायर गरेको थियो ।

२०८० चैत्र १३ गते जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद पोखरेलको इजलासले स्पट फिक्सिङको आरोप लागेका खेलाडीहरू विरूद्ध सीआईबीले गरेको दाबी नपुग्ने भन्दै सफाइको निर्णय सुनाएको थियो ।

फिक्सिङको आरोपमा महबुब र आदिलसँगै नितेश गुप्ता, नविन कँडेल र रवि माझी विरूद्ध सीआईबीले मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा सबैले सफाइ पाएका थिए । नितेश, महबुब र आदिललाई सीआईबीले पक्राउ समेत गरेको थियो ।

494425521_689892310119498_3280186385511998730_n.jpg

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार