
शिब अधिकारी, रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रहरीका परिवार खोज्ने धम्की दिएका छन । रुपन्देहीको सैनामैना नगरपालिकामा राप्रपा सैनामैनाले आयोजना गरेको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ज्यादती र अत्यचार गरे प्रहरी मात्र नभई उनिहरुका परिवारलाई पनि खोज्ने चेतावनी दिएका हुन् ।
प्रवक्ता शाहीले देश विकराल अवस्थामा पुगेको बताउँदै चैत्र १५ गतेको आन्दोलनमा राजा ल्याउन भन्दै सहभागी भएका सैनामैनाका एक युवालाई प्रहरीले झुठा मुद्दा लगाएर थुनेकाले सोको विरोध समेत गरेका छन् ।
उनले आफूहरुको लडाई प्रहरीसँग नभएको उल्लेख गर्दै गोली हान्नुपर्ने अवस्था नहुँदा पनि प्रहरीले गोली चलाएकोमा गम्भिर आपत्ती व्यक्त गरेका हुन । शाहीले आफूहरुलाई पनि गोली चलाउन आउने बताउँदै नेपाल प्रहरीका आईजीपी दिपक थापालाई संयमित भएर प्रहरी परिचालन गर्न आग्रह गरेका हुन ।
उनले चैत्र १५ गतेको आन्दोलनमा सरकार पक्षले नै पर्दशनकारीहरुलाई भड्काउने काम गरेको बताए । राप्रपाले चैत २६ गते विरोध पर्दशनको आयोजना गर्न लागेको जानकारी दिँदै सैनामैनाका युवालाई प्रहरीले थुनेको विषयमा राप्रपा सैनामैनाले आन्दोलनका कार्यक्रम अघि सार्न पनि आग्रह गरेका छन् ।
उनले नेपाल डलरवादीको देश नभएको पनि टिप्पणी गरेका हुन् ।
राप्रपाले प्रदेश सभा खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र राष्ट्रपतिको ठाउँमा राजा ल्याउनुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिरहेको छ ।