
शिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैना ६ कलौनीमा रहेको सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा तीन विद्यार्थी संगठन बीच प्रतिस्पर्धा हुने भएको छ । त्रिवि मातहतका क्याम्पसहरुमा आउँदो चैत्र ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनमा तीन संगठनका बीच चुनावी भिडन्त हुने भएको हो ।
त्रिभुवन विश्वविद्यालयमा आवद्ध देश भरका आंगिक क्याम्पसहरुमा चुनावी माहोल तातेको बेला सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा पनि शनिवार (आज) उम्मेद्वारी दर्ता कार्यक्रम सम्पन्न भएको छ । त्रिविको स्ववियू निर्वाचन कार्य तालिका अनुसार आज उम्मेद्वारी दर्ता सम्पन्न भएको हो ।
उम्मेद्वारी दर्ता कार्यक्रम सम्पन्न भएसँगै रामापुर क्याम्पसमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ, पाँच दलिय संयुत्त प्यानल र स्वतन्त्र उम्मेद्वारका बीच प्रतिस्पर्धा हुने पक्का भएको हो ।
पाँच दलिय संयुत्त प्यानलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (यूनियन) अखिल छैंठौं र बैद्य निकट अनेरास्ववियु क्रान्तिकारी रहेका छन् ।
पाँच दलिय संयुत्त प्यानल अन्य विद्यार्थी संगठन भन्दा बलियो देखिएपनि नेपाल विद्यार्थी संघ र स्वतन्त्र तर्फका उम्मेदवार पनि चुनाव जित्ने लक्ष्य सहित चुनावी मैदानमा होमिएका छन् ।
संयुक्त प्यानल बनाएको गठबन्धनका तर्फबाट विज्ञान पाण्डे, नेविसंघका तर्फबाट मौसम थापा र स्वतन्त्र रुपमा विशाल पौडेलले सभापति पदमा उम्मेदवारी दिइएका छन् ।