सैनामैना गोल्डकप : उद्घाटन खेलमा आयोजक मुर्गिया एफसी विजयी

सैनामैना गोल्डकप

सैनामैना । खेलमय बनेको रुपन्देहीको सैनामैनामा आजबाट प्रथम सैनामैना गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मुर्गिया फुटबल क्लबले गोर्खा व्याईज बुटवललाई १ – ० को गोल अन्तरले हराउँदै बिजयी सुरुवात गरेको हो ।

मुर्गिया एफसीले दोश्रो हाफको ४७ औं मिनेटमा जर्सी नंम्बर १८ का खेलाडी रोशन पहाडीको गोल मार्फत अग्रता कायम गरेको थियो । गोर्खा व्याईजका तर्फबाट निर्धारित समयमा कुनै पनि गोल हुन नसकेपछि पहाडीको गोल नै निर्णायक बन्न पुग्यो । उनले डि बक्सबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

पहिलो हाफ मुर्गिया एफसी र गोर्खा व्याईज दुवै टिमले आकर्षक गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीमा रोकियो ।

प्रतियोगिताको आज उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनामै राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना हुनु गौरवको कुरा भएको बताउँदै खेलले सैनामैनाको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको बताउनुभयो ।

सैनामैना नगरपालिकाका प्रथम नगर प्रमुख चित्रबहादुर कार्कीले कुनैपनि ठाउँको विकास गर्नका लागि स्थानीय श्रोत साधन र पहलकदमीले धेरै ठूलो काम गर्ने बताउँदै सैनामैनाका प्रत्येक वार्डमा स्टेडियम बनाएर खेलकुद क्षेत्रको विकाससंगै खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले यो स्टेडियमको निर्माण हुँदै गर्दा स्टेडियमले एउटा आकार दिन सफल भएको उल्लेख गर्दै सैनामैनाको खेल क्षेत्रमा यसले उत्साहको संचार गरेको उल्लेख गर्नुभयो । सैनामैनाबाट पनि अब्बल खेलाडी जन्माउन सकिन्छ र त्समा स्थानीय सरकारको ध्यान जानुपर्दछ भन्नुभयो ।

कार्यक्रममा नेकपा माओवादीका पोलिटव्यूरो सदस्य बसन्त श्रेष्ठ खेलले टुटेको मनलाई जोडने गरेको बताउँदै खेलकुदले नेपालले गौरव गर्ने खेलाडीको विकास र प्रवर्दन गर्न मद्दत गर्ने उल्लेख गर्नुभयो ।

सैनामैना फुटबल क्लवका खेल संयोजक अशोक खडकाको अध्यक्षतामा भएको कार्यक्रममा एन्फा रुपन्दहीका अध्यक्ष लोक पुन, सैनामैना नगरपालिका वडा नंं ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी लगायतले बोल्दै सैनामैनामा सुरु भएको राष्ट्रियस्तरको प्रतियोगिताले सैनामैना खेल पर्यटनको हब बन्ने विश्वास गर्नुभयो ।

उदघाटन कार्यक्रममा स्वागत गर्दै क्लवका अध्यक्ष प्रविन भारीले सैनामैना गोल्डकपलाई सफल बनाउन सवैले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभएको थियो ।

दश टोलीको सहभागिता रहेको प्रतियोगितामा भोली मंगलबार नेपाल पुलिस क्लब र रुपन्देहीको फर्साटिकर फुटबल क्लबबीच स्पर्धा हुनेछ । खेल दिउँसो ३ बजेबाट मुर्गियास्थित सैनामैना फुटबल रंगशालामा हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले नगद ७ लाख रुपैया, शिल्ड, मेडल, प्रमाणपत्र तथा उपविजेता टोलीले नगद ४ लाख रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । विधागत तर्फ उत्कृष्ट खेलाडीहरुले पनि नगद र शिल्ड प्राप्त गर्नेछन् । प्रतियोगिता फागुन २८ गतेसम्म चल्नेछ ।

तस्बिरमा हेर्नुहोस प्रथम सुनगाभा सैनामैना गोल्डकपको पहिलो दिन :-

सैनामैना गोल्डकप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार