
सैनामैना । प्रथम वडा कप वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ११ ले जितेको छ । सैनामैना युवा सञ्जालको आयोजनामा सञ्चालन भएको वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर ४ लाई १ ० को गोल अन्तरले पराजित गर्दै वडा नम्बर ११ ले उपाधि जितेको हो ।
सैनामैना ५ बक्सडस्थित कोटिया खेल मैदानमा सम्पन्न भएको उपाधी भिडन्तमा खेलको ४९ औँ मिनेटमा वडा ११ ले १ गोल गरेको थियो । वडा नं ४ का खेलाडीले गोल गर्ने अवसरहरू सिर्जना गरे पनि गोल गर्न नसक्दा उपविजेतामा चित्त बुझाएका छन ।
उपाधिसँगै वडा नं ११ ले ५१ हजार १ सय ११ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता वडा नं. ४ ले २५ हजार ५ सय ५५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै, प्रतियोगिता अवधिभर उत्कृष्ट विधामा हाई स्कोर बनाउन सफल निशान क्षेत्री, वेष्ट किप्पर शुसिल मल्ल र वेष्ट प्लेयर दिपशन सेनले नगद ३ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि समेत रहनुभएका सैनामैना ५ का वडा अध्यक्ष धन प्रसाद पौडेलले विजेतालाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्दै वडा स्तरीय फुटबल प्रतियोगिताले सैनामैनाका नव प्रतिभा खेलाडीको खेल प्रदर्शन र खेल कौशलको विकासमा ईट्टा थपिएको बताउनुभयो ।
उहाँले हरेक वडाबाट खेलाडी सहभागी भई खेल र खेलाडीहरु अनुशासित र सभ्य किसिमले खेल खेलेर आगामी दिनमा जिल्ला, प्रदेश र केन्द्रस्तरसम्म खेल्न सक्ने खालका खेलाडीको खेल क्षमताको विकासमा प्रतियोगिता सहयोगी बन्ने भन्दै विजेता र उपविजेतालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
क्लबका अध्यक्ष राजेन्द्र घिमिरेले स्थानीय स्तरमा फुटबल खेलाडी उत्पादन र खेलाडीको खेल क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएकोले खेलको सफलता पुर्वक सप्पन्न गर्नुहुने सबैमा धन्यवाद दिदै विजेतालाई बधाई तथा र उपविजेतालाई आगामी खेलको सफलताको शुभकामना दिनुभयो ।
कार्यक्रममा सैनामैना ४ का अध्यक्ष रामप्रसाद अधिकारी, वडा ८ का अध्यक्ष बुद्धिराम चौधरी, पूर्व वडाध्यक्ष पर्शुराम सापकोटा, वडा सदस्य तेज नारायण सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।
सैनामैना ५ युवा सञ्जालको आयोजना तथा सैनामैना नगरपालिका र वडा नम्बर ५ को संरक्षकत्वमा प्रतियोगिता सञ्चालन भएको थियो ।