
शिब अधिकारी, सैनामैना । खेलमय बनेको रुपन्देहीको सैनामैनामा आईतबार (आज) बाट प्रथम वडा कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । सैनामैना ५ बुद्धनगरमा रहेको युवा सञ्जालको आयोजनामा आजबाट प्रतियोगिता सुरु भएको हो ।
सैनामैना नगरपालिका र वडा नम्बर ५ को कार्यालयको संरक्षकत्वमा सुरु भएको प्रतियोगिता फागुन १० गते सम्म चल्ने छ । प्रतियोगिताको आज औपचारिक उद्घाटन गरिएको छ ।
उद्घाटन समारोह युवा सञ्जालका अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षता, सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र शर्माको प्रमुख आतिथ्यता, उपप्रमुख विना राना, प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीको विशिष्ठ आतिथ्यतामा सम्मपन्न भएको थियो ।
प्रतियोगिताको पहिलो दिन आज दुई खेल सम्पन्न भएका छन् । सैनामैना ५ बक्सडस्थित कोटिया खेल मैदानमा सम्पन्न खेलमा वडा नम्बर ३ र वडा नम्बर ४ विजयी भएको सञ्जालका अध्यक्ष घिमिरे जानकारी दिनुभयो ।
उहाँका अनुसार आयोजक बी र वडा नम्बर ३ बीच भएको प्रतियोगिता ट्राईब्रेकरमा धकेलिएको थियो । जसमा वडा नम्बर ३ ले आयोजक बी लाई ४-३ को गोल अन्तरले हराएको हो ।
त्यस्तै, दोस्रो खेलमा वडा नबर ८ पराजित भएको छ । वडा नम्बर ४ को टोलीसँग ८ को टोली ५-१ को गोल अन्तरमा पराजित भएको हो ।
प्रतियोगितामा सोमबार (भोलि) वडा नम्बर १ सँग ९ तथा वडा नम्बर ७ सँग १० ले खेल्ने तालिका रहेको छ । प्रतियोगिताको विजेता हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले २५ हजार ५ सय ५५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै, उत्कृष्ट खेलाडीले ३ हजार र प्रत्येक खेलका म्यान अफ द म्याच हुने खेलाडीले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।