रुपन्देही । नवलपुर सेवा समाज युएईले चौँथो अक्षय कोष स्थापना कार्यक्रम सम्पन्न गरेको छ । नवलपुर बासीको मानवीय विकासको महत्वपूर्ण पाटोको रूपमा रहेको शिक्षा क्षेत्रलाई समय सापेक्ष परिवर्तन गर्न जरुरी रहेको बताउँदै वैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेका नवलपरासी पूर्व सुस्ता नवलपुर बासीहरुको संस्थाले चौँथो अक्षय कोष स्थापना कार्यक्रम सम्पन्न गरेको हो ।
नवलपुर जिल्लाका विद्यालयमा अध्यान गर्ने बालबालिकाको सहयोगार्थ तथा गरिब एवम् जेहनदार विद्यार्थीलाई सहयोग तथा सम्मान गर्ने हेतुले समाजले कार्यक्रम गरेको बताइएको छ । समाजले चौँथो अक्षय कोष नवलपुरको मध्यबिन्दु नगरपालिकामा रहेको सरस्वती आधारभुत विद्यालयमा स्थापना गरेको छ ।
वैदेशिक रोजगारको शिलशिलामा युएईमा रहेका नवलपुर पूर्व सुस्ता वासीको छाता संगठन नवलपुर सेवा समाज युएईको बार्षिक कार्यक्रम अनुसार नवलपुरका ४ नगरपालिका र ४ गाउँपालिका गरि कुल ८ वटा विद्यालयमा अक्षय कोष स्थापना गरि हस्तान्तरण गरिने बताइएको छ ।
चौँथो अक्षय कोष हस्तान्तरण कार्यक्रम समाजका सल्लाहकार जितु ठकुरीको संयोजकत्व तथा संस्थापक अध्यक्ष भीम बहादुर हमालको सक्रियतामा सम्पन्न भएको छ । नवलपुर सेवा समाज युएईले सन २०१६ देखि विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।