प्रधानमन्त्रीसँग नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेको भेट

शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका हुन् ।
शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका हुन् ।

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले बाढी र पहिरोका कारण अवरुद्ध सडक सञ्चालन, राहत तथा उद्धार र शव व्यवस्थापनमा तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका हुन् । बाढी प्रभावित क्षेत्रमा सडक पिच भए पनि लेदो र माटोका कारण यातायात ठप्प रहेको उनले बताए । तत्काल स्काभेटर प्रयोग गरेर लेदो पन्छाउन सके सवारी साधन र बेलिब्रिजका सामग्रीहरू सम्बन्धित स्थलसम्म पुर्‍याउन सहज हुने उनको भनाइ छ।

यस विषयमा प्रधानमन्त्रीले काम भइरहेको जानकारी दिएका छन् । पुलहरू क्षतिग्रस्त भएको र मौसमको प्रतिकूलताका कारण हेलिकप्टरबाट गरिने उद्धारमा समेत समस्या देखिएकाले विकल्पका रूपमा तुरुन्त तुइनको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्रीले हालसम्म ३–४ स्थानमा तुइन जडान भइसकेको र यसलाई अझ तीव्रता दिने आश्वासन दिएका छन्।

प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा देवीघाटस्थित वृद्धाश्रममा बाढी पस्दा ८० वर्षभन्दा माथिका ६ जना ज्येष्ठ नागरिकको मृत्यु भएको दुःखद् जानकारी पनि उनले दिए । उद्धार गरिएका अन्य वृद्धवृद्धाहरूलाई हाल आयुर्वेदिक अस्पतालमा राखिएको छ । विपद् क्षेत्रमा रहेका शवहरू सड्न थालेकाले त्यसबाट फैलिन सक्ने दुर्गन्ध र महामारीप्रति उनले चिन्ता व्यक्त गरे।

सेनाको ठूलो हेलिकप्टर सबै ठाउँमा अवतरण हुन नसक्ने र सानो हेलिकप्टरले एकपटकमा ५(६ जनाभन्दा बढी ल्याउन नसक्ने उनले बताए। ‘त्यसैले जहाँ पुलहरू छैनन्, त्यहाँ तत्काल तुइन राख्न मैले सुझाव दिएको छु,’ उनले भने, ‘मैले त्यहाँका सुरक्षाकर्मी र स्थानीयलाई दुर्गन्धका कारण स्वास्थ्यमा आउन सक्ने जोखिमबारे सचेत गराउँदै सुरक्षित स्थानमा सर्न आग्रह गरेको छु।’ शव व्यवस्थापनमा ढिलाइ हुँदा अर्को गम्भीर समस्या निम्तिन सक्ने चेतावनीसमेत उनले दिए।

शव व्यवस्थापनका विषयमा प्रधानमन्त्रीले विशेष ब्यागहरूको व्यवस्था गरिएको र उचित तापक्रम व्यवस्थापन गरी शवहरू सुरक्षित राखिने वा डीएनए परीक्षणका लागि नमूना संकलन गरी तत्काल खाडलमा पुरिने व्यवस्था मिलाइएको जानकारी दिएको आङ्देम्बेले बताए। पहिचान खुलेपछि मात्र शवहरू परिवारलाई जिम्मा लगाउने प्रक्रिया अघि बढिसकेको सरकारको दाबी छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation