काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको नाडा अटो शोलाई लक्षित गर्दै बैंकहरूले सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराएका छन् ।
अटो मेलामा बैंक तथा वित्तीय संस्थाहरूले छुट्टै स्टल राखेर खरिदकर्तालाई कर्जा सुविधा दिएका हुन् ।
जसमा अधिकांश बैंकहरूले ५.९९ प्रतिशत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने व्यवस्था गरेका छन् ।
एनआईसी एशिया बैंकले सपनाको गाडी अब तपाईंकै अगाडि नारासहित ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ७ वर्षको लागि कर्जा उपलब्ध गराउँदै छ ।
यस्तै, नबिल बैंकले ५.१७ प्रतिशत, वाणिज्य बैंकले ५.६३ प्रतिशत, प्रभु बैंकले ५.५२ प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.७ प्रतिशत र कृषि विकास बैंकले प्रिमियममा ३३ प्रतिशत छुट सहितको कर्जा योजना ल्याएका हुन् ।

शोमा ७ वटा वाणिज्य बैंकहरूले सवारी खरिद गर्नेहरूलाई खरिद गरेकै स्थानमा कर्जा उपलब्ध गराउने गरी कर्जा सुविधा दिएका हुन् ।

सवारीको महामेलाको रूपमा चिनिने नाडा अटो शोमा गाडी खरिदकर्ताहरूलाई सहुलियत दरमा ७ देखि १० वर्षसम्म अवधिका कर्जा योजनाहरूको व्यवस्था गरिएको हो ।













