अवतार ०७ सार्वजनिक, मूल्य दुई करोड २० लाख

काठमाडौं । सीजी एमएडब्लू इभोलुसन प्रा. लि.ले नाडा अटो शो २०२६ को पहिलो दिन नेपालमा नयाँ अवतार ०७ औपचारिक रूपमा सार्वजनिक गरेको छ । यससँगै नेपाली बजारमा अर्को प्रिमियम तथा इन्टेलिजेन्ट विद्युतीय सवारीसाधनको प्रवेश भएको छ ।

अवतार ०७ लाई एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी, चांगान इन्टरनेसनल कर्पोरेसनका प्रतिनिधि दु काइजियान (केभिन) र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा अनावरण गरेका हुन् ।

‘स्मार्ट एलिगेन्स, एफर्टलेस लक्जरी’ अर्थात् स्मार्ट सौन्दर्य र सहज विलासिताको अवधारणामा तयार गरिएको अवतार ०७ ले विशिष्ट डिजाइन, बौद्धिक प्रविधि, परिष्कृत आराम र विद्युतीय कार्यक्षमतालाई एउटै सवारीसाधनमा समेटेको छ । यो मोडल नेपालका लागि अवतार सवारीसाधनको आधिकारिक वितरक सीजी एमएडब्लू इभोलुसन प्रा. लि.ले सार्वजनिक गरेको हो ।

प्रिमियम विद्युतीय एसयूभीमा ८२.१६ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार, यसले एनईडीसी परीक्षण मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा अधिकतम ५७५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यसको रियर–ह्विल–ड्राइभ पावरट्रेनले १९० किलोवाट अधिकतम पावर र ३६५ एनएम टर्क उत्पादन गर्छ । यसले गाडीलाई ७.७ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्षम बनाउँछ ।

अवतार ०७ को प्रविधिमैत्री र विलासी क्याबिनमा ३५.४ इन्चको फोर–के पानोरामिक डिस्प्ले, १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन, नाप्पा लेदर अपहोल्स्ट्री, ६४ रङको एम्बियन्ट लाइटिङ र १६ वटा स्पिकरसहितको पायोनियर अडियो सिस्टम उपलब्ध छन् ।

यसका अन्य प्रमुख विशेषतामा जिरो–ग्राभिटी फ्रन्ट सिट, सिट भेन्टिलेसन तथा हिटिङ, मसाज सुविधा, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो तथा ५० वाटको वायरलेस स्मार्टफोन चार्जर समावेश छन् ।

सुरक्षालाई प्राथमिकता दिँदै अवतार ०७ मा नौवटा एयरब्याग र विभिन्न इन्टेलिजेन्ट ड्राइभर–असिस्टेन्स तथा सुरक्षा प्रविधि उपलब्ध गराइएको छ । यी प्रणालीलाई लाइडार, विभिन्न हाई–डेफिनिसन क्यामेरा र अल्ट्रासोनिक–वेभ राडारले सहयोग गर्छन् ।

नेपालमा अवतार ०७ को अधिकतम खुद्रा मूल्य दुई करोड २० लाख निर्धारण गरिएको छ भने एफएचडीसहितको अवतार ०७ को मूल्य दुई करोड ३० लाख तोकिएको छ । अवलोकनकर्ताले नाडा अटो शो २०२६ अवधिभर अवतार पेभिलियनमा नयाँ अवतार ०७ प्रत्यक्ष अवलोकन तथा अनुभव गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation