काठमाडौं । नेपाली ब्रान्ड यात्रीले आफ्नो नयाँ विद्युतीय स्कुटर ‘यात्री पी-२’ सार्वजनिक गरेको छ ।
सिप्रदी यात्रीले नेपालमै डिजाइन तथा उत्पादन गरेको पी-२ लाई विभिन्न ब्याट्री विकल्प सहित बजार ल्याएको हो ।

पी-२ लाई तीन फरक ब्याट्री क्षमतामा उपलब्ध गराइएको छ । कम्पनीका अनुसार ग्राहकले ५.२ किलोवाट आवर, ३.७ किलोवाट आवर र ३ किलोवाट आवर क्षमताका ब्याट्रीमध्ये विकल्प रोज्न सक्नेछन् ।
सबैभन्दा ठूलो ५.२ किलोवाट आवर ब्याट्री भएको पी-२ ले एक पटक पूर्ण चार्जमा १ सय ५७ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
त्यस्तै ३.७ किलोवाट आवर ब्याट्री भएको मोडेलले १ सय १२ किलोमिटर र ३ किलोवाट आवर ब्याट्री भएको मोडेलले ९० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ ।
३५ स्थानमा डीसी चार्जर
पी-२ को मुख्य विशेषतामध्ये डीसी फास्ट चार्जिङ सपोर्ट पनि छ । सिप्रदी यात्रीले स्कुटरका लागि देशभरि ३५ स्थानमा डीसी चार्जर स्थापना गर्ने जनाएको छ ।
पी-२ ले ३.३ किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्ने छ । यसले लामो दुरीमा स्कुटर चलाउने ग्राहकलाई चार्जिङको सुविधा विस्तार गर्ने कम्पनीको अपेक्षा छ ।










