एसियाली खेलकुद: नेपालसामु अफगानिस्तानद्वारा १०३ रनको लक्ष्य, ललित र कुशलको उत्कृष्ट बलिङ

काठमाडौँ। जापानमा जारी २० औँ एसियाली खेलकुदअन्तर्गत कारोगी स्पोर्ट्स पार्कमा भइरहेको खेलमा नेपालले जितका लागि १ सय ३ रनको मध्यम लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २ रन मात्र बनाउन सक्यो।

नेपालका लागि स्पिनर ललित राजवंशी र कुशल भुर्तेलले घातक बलिङ गर्दै अफगानिस्तानको ब्याटिङ लाइनअपलाई ध्वस्त पारे।

नेपाललाई सुरुवाती सफलता दिलाउने क्रममा ललित राजवंशीले अफगानिस्तानको माथिल्लो क्रमका तीन ब्याटरलाई सस्तैमा पभिलियनको बाटो देखाए। ललितले ओपनर हसन इसाकिललाई डक आउट, अर्का ओपनर मोहम्मद एकरामलाई २ रन तथा करिम जन्नतलाई ९ रनमा आउट गरेपछि अफगानिस्तानले १६ रन जोड्दा नै महत्वपूर्ण ३ विकेट गुमाइसकेको थियो।

त्यसपछि बलिङमा आएका कुशल भुर्तेलले लगातार ४ विकेट लिँदै मध्यक्रमका ब्याटरहरूलाई टिक्नै दिएनन्। कुशलले ३० रन बनाएका फैजल खानलाई दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच गराए भने ७ रन बनाएका मोहम्मद इशाकलाई एलबीडब्लु धरापमा पारे। कुशलले आफ्नो लय कायम राख्दै अफगानी कप्तान डार्विस रसोलीलाई खाता नै खोल्न नदिई गोल्डेन डक आउट गरे। त्यसपछि आक्रामक रूपमा खेलिरहेका नाजिबल्लाह जर्डान (३० रन) लाई कुशलले करण केसीको हातबाट क्याच गराएपछि ९५ रन जोड्दा अफगानिस्तानले ७ विकेट गुमाएको थियो।

नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १ मेडन राख्दै २१ रन दिएर सर्वाधिक ४ विकेट लिए। त्यस्तै, अत्यन्तै कसिलो बलिङ गरेका ललित राजवंशीले ४ ओभरमा मात्र १३ रन खर्चिएर ३ विकेट लिए।

टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र अफगानिस्तान दोस्रो पटक आमनेसामने भएका हुन्। यसअघि यी दुई टोलीबीच सन् २०१४ को टी-ट्वान्टी विश्वकपमा प्रतिस्पर्धा भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation