गोरखा : गोरखाको आरूघाट गाउँपालिकाले भदौ १० गते रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका आफ्ना गाउँपालिकाभित्रका नागरिकका परिवारलाई राहत स्वरूप नगद एक लाख उपलब्ध गराउने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष राजु गुरूङको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले बाढीपीडित परिवारको घाउमा मलम लगाउने उद्देश्यले सो राहत रकम प्रदान गर्ने निर्णय गरेको हो।
प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका गाउँपालिकाबासीका परिवारलाई स्थानीय सरकारको तर्फबाट तत्काल सहयोग पुगोस् भनेर प्रतिपरिवार एक लाख राहत दिने निर्णय गरिएको अध्यक्ष गुरूङले जानकारी दिए।
बैठकले विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।








