भैरहवा। यहाँस्थित सहकारी संस्थाहरुले सहकारीहरुलाई सरकारले अनावश्यक अंकुस लगाएको आरोप लगाएका छन् । बिहीबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका तथा सिद्धार्थनगर नगर सहकारी सञ्जाल समितिले आयोजना गरेको सहकारी प्रवद्र्धन गोष्ठीमा बोल्ने वक्ताहरुले सरकारले हालै जारी गरेको सहकारी सम्बन्धी ऐन तत्काल संशोधन गर्ने अध्यादेश–२०८१ मा भएका व्यवस्थाप्रति असहमति राखेका हुन् ।
स्थानीय तहमा दर्ता भइ सञ्चालनमा रहेका साना सहकारी संस्थाहरुमाथि अकुंस लगाइ सरकारले अनावश्यक रुपमा अव्यवहारिक ऐन जारी गर्न लागेको आरोप लगाए । ठूला र साना सहकारीहरुलाई एउटै नियममा बाध्न खोज्नु गलत भएको उनीहरुको भनाइ छ ।
सहकारी सञ्चालक पदमा दुई कार्यकाल बस्न नपाउने, एकभन्दा बढी सहकारीमा आबद्ध हुन नपाउने, बचतको सीमा तोकिनु, प्रत्येक तीन महिनामा भाखा नाघेको ऋणीको जानकारी कर्जा सूचना केन्द्रमा दिनुपर्ने लगायतका विषयहरु अव्यवहारिक भएको उनीहरुले बताए । सञ्जालका अध्यक्ष कुल प्रसाद न्यौपानेले सञ्चालक पदमा दुई कार्यकाल बस्न नपाउने व्यवस्था तथा बचतको सीमा तोकिएको विषय खारेज गर्नुपर्ने बताए । सञ्जालले अध्यक्षको हकमा मात्र यस्तो व्यवस्था हुनुपर्ने तथा सञ्चालकको हकमा पनि एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाइने व्यवस्था मान्न सकिने उनले बताए । त्यस्तै स्रोत खुलाएर बचत गर्न पाउनुपर्ने तथा कर्जा सूचना केन्द्रमा तीन महिनाको सट्ट वार्षिक रुपमा विवरण पेश गर्नुपर्ने व्यवस्था गर्नुपर्ने उनले बताए । त्यस्तै नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा मापदण्ड समेत अन्यौल रहेको बताए । राष्ट्र बैंकबाट जारी भएको निर्देशनमा बचत, ऋण तथा संस्थाको दैनिक कार्यमा हस्तक्षेप गर्न नहुने लगायतका विषयहरु अस्पष्ट भएको बताए ।
समस्या नभएका र सुशासन कायम भएका सहकारीहरुमा समेत सरकारले कडाइ गर्न खोज्नु उपयुक्त नहुने माग वक्ताहरुले उठाएका थिए । सञ्जालले यसअघि सिद्धार्थनगर नगरपालिकामा विभिन्न बुँदाहहरुमा असहमति राख्दै ज्ञापनपत्र समेत बुझाएको थियो । कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले पछिल्लो समय सहकारीहरुमा देखिएका समस्याहरुलाई इंगित गर्दै सिद्धार्थनगरमा दर्ता भएका सहकारीहरुमा खासै समस्या नदेखिएको बताइन् । छिटफुट समस्या देखिएका सहकारीहरुलाई कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको जानकारी दिदै सहकारी सञ्चालकले आफ्नो व्यक्तिगत स्वार्थका लागि काम नगरी संस्थागत स्वार्थका लागि काम गर्न आग्रह गरिन् । बजार चलायमान नभएको अवस्थामा केही समस्या देखिएको बताउँदै उनले ऋणीहरुले रकम नबुझाउँदा बचतकर्ताले रकम पाउन नसकेकाले सहकारी संस्थाहरुले यस विषयमा ध्यान दिनुपर्ने बताइन् ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका सहकारी शाखा प्रमुख कमलकान्त खनाल, जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचन, रुपन्देही बचत तथा ऋण सहकारी संघका सञ्चालक समिति सदस्य भानुभक्त पौडेल, सिद्धार्थनगर–३ का पूर्व वडाध्यक्ष थानेश्वर पौडेल लगायत सहकारीका अध्यक्ष व्यवस्थापक तथा प्रतिनिधिहरुको उपस्थिति थियो । सञ्जालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठको स्वागत तथा सचिव खिमबहादुर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।