
काठमाडौं । स्कटल्याण्डमा भएको त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ ।
नेपाल शुक्रवार घरेलु टोलीसँग ३४ रनले पराजित भयो । १ सय ९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रन मात्र बनाउन सक्यो ।
नेपाली टोलीका रुपेश सिंहले २२ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रन जोडे । दीपेन्द्र सिंह ऐरीले ३३ बलमा १ चौका र १ छक्काको सहयोगमा ३४ रन जोडे ।
कप्तान रोहितकुमार पौडेल २० बलमा ४ चौकाको सहयोगमा २७ रन जोडे । आसिफ शेख १४, भीम सार्की १२ तथा आरिफ शेख ५ रनमा आउट भए ।
स्कटल्याण्डका क्रिस ग्रेभ्सले ३ तथा सफियान सरिफले २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रनको बनायो ।
स्कटल्याण्डका ओपनर जर्ज मन्सी ३९ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ७८ रन बनाए । स्कटल्याण्डका मन्सी कुशल भुर्तेलको बलमा कप्तान रोहितबाट क्याच आउट भए ।
पहिलो विकेटका लागि मार्क वाटसँग मन्सीले ३४ रनको साझेदारी गरे । वाट ९ बलमा ९ रन जोड्दै रुपेशको बलमा बोल्ड आउट भए ।
तेस्रो विकेटका लागि मन्सीले ब्रण्डन मकमलनसँग ५६ बलमा १ सय रनको साझेदारी गरे । मकमलन ३० बलमा ४ चौका र १ छक्कासहितमा ४२ रन बनाए ।
माइकल लिस्क १७ बलमा २६ तथा म्याथ्यु क्रस १३ बलमा १७ रन बनाउदै अविजित रहे । कप्तान रिची बेंरिग्टन ९ रन बनाउँदै कुशलको बलमा लोकेश बमद्वारा समातिए ।
नेपालका कुशलले २, सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रुपेशले समान १ विकेट लिए ।
स्कटल्याण्ड ४ खेलमा २ मा हार र २ मा जितका साथ शीर्ष स्थानमा रहँदै सिरिजको च्याम्पियन भएको छ । नेपाल समान खेलमा २ मा जित र २ मा हारका साथ अंकतालिकाको दोस्रो स्थानमा रह्यो । अंक बराबरी भएपनि नेपाल रनरेटमा पछि पर्यो । नेदरल्याण्ड्स तेस्रो भयो।