
भैरहवा ।
उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि. भैरहवाले सेयर सदस्यलाई सहकारी शिक्षा तालिम तथा योग शिविर सम्पन्न गरेको छ । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीको बार्षिक कार्ययोजना बमोजिम कार्यक्रमको आयोजना गरिएको सहकारीका शिक्षा समिति संयोजक कृष्णप्रसाद पोख्रेलले बताए ।
कार्यक्रमका प्रमुख प्रशिक्षक सिद्धार्थनगर नगरपालिका सहकारी शाखा प्रमुख कमलकान्त खनालले सहकारीको उदेश्य सहकार्य भएको बताउँदै बचतकर्ता, ऋणी र सहकारी संचालकहरुको सामुहिक सहकार्यले मात्र सहकारीको उदेश्य पुरा हुने बताए । उनले सहकारीको मर्म अनुसार सबैले काम गर्नुपर्ने बताए । त्यस्तै नियमन निकायले दिएका निर्देशन सबै सहकारीले पालना गर्नुपर्ने बताए ।
सिद्धार्थनगर सहकारी सञ्जालका अध्यक्ष कूलप्रसाद न्यौपानेले बचतकर्ताले स्थानीय स्तरमा दर्ता भएका सहकारीहरुमा काम गर्दा सजिलो र विश्वासीलो हुने बताउँदै सहकारीका बचतकर्ताहरुले यो विषयमा बुझ्नुपर्ने बताए । सहकारी सञ्जालले आगामी दिनमा यहाँस्थीत सम्पूर्ण सहकारीहरुलाई एकिकृत गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरिरहेको बताए ।
राष्ट्रिय सहकारी बैंक भैरहवा शाखा प्रमुख ऋषिकेश ज्ञवालीले सहकारीमा आवद्ध सबैले सहकारीको एजेन्डालाई यथार्थ रुपमा बुझ्नुपर्ने बताए । त्यस्तै कार्यक्रममा योग प्रशिक्षक उदयराज अधिकारीले उपस्थितीलाई योग प्रशिक्षण दिएका थिए । सहकारीका उपाध्यक्ष नारायणप्रसाद भण्डारीले सहकारीले आगामी बर्षमा आफ्नै भवनबाट सेवा दिनका लागि भवन निर्माणको प्रक्रिया अगाडी बढाएको बताए । उनले सहकारीका बचतकर्ता, ऋणि र सहकारी संचालक, शेयरसदस्यको सामुहिक एकताले काम गरिरहेको बताए । सहकारीका अध्यक्ष खिमबहादुर खत्रीको अध्यक्षता, कार्यक्रम संयोजक कृष्णप्रसाद पोख्रेलको स्वागत तथा सचिव अनिलकुमार ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।