हाम्रो दिनचर्या र यसले समाज परिवर्तनमा पारेको प्रभाव

जीवन एउटा ऊर्जा हो ।यो उर्जा कहाँ कसरी के काममा प्रयोग भैरहेको छ भन्ने विषय मूख्य हो ।प्रयोगबिहिन भएर यो कदापि रहन सक्दैन ।यसले आफू हिड्ने बाटो बनाएरै छोड्छ ।जसरी पानीले आफू अनुकुलको बाटो बनाउँछ ।ऊर्जा पनि बग्ने पानी जस्तै हो ।यो जीवन उर्जालाई विशाल लक्ष्यरूपि समुद्रमा जान दिने वा ससाना गड्डामा सिमित राख्ने त्यो हाम्रै हातमा छ । यो उर्जालाई हामी के कसरी प्रयोगमा ल्याइरहेका छौँ भन्ने कुरा मुख्य हो ।

जीवनमा जो मानिसहरू सुखी सम्पन्न वा सफल देखिन्छन् उनीहरूले यो ऊर्जालाई सदुपयोग गर्न सफल भए । प्राचीन ऋषिमुनिहरू ऊर्जालाई चिनेर तप साधनाद्वारा सिद्धि प्राप्त गर्न सफल भए आधुनिक युगका अलबर्ट आइन्स्टाइन , कार्लमार्क्स बिल गेट्स , एलन मस्क, रबिन्द्रनाथ टैगोर , नेल्सन मण्डेला आदि ऊर्जाकै सदुपयोगद्वारा आआफ्ना क्षेत्रमा सफलताको चरमसिमा प्राप्त गर्न सफल भए । त्यही ऊर्जा हो जसले हामीलाई केही नगरी बस्न दिदैन । निदाएको बेलामा पनि यो ऊर्जा सपनाको रुपमा प्रकट हुन्छ । चुपचाप बसेको बेलामा पनि अनेक तर्क वितर्क र विचारका ज्वारभाटामार्फत प्रकट हुन्छ । ऊर्जा हाम्रो लागि बरदान हो यदि यसलाई व्यवस्थित गर्छौ भने अन्यथा यो अभिसाप हुनेछ । एउटा सफल कवि वा लेखक ऊर्जाको व्यवस्थित रुप हो , एउटा कालिगढ वा कलाकार ऊर्जाकै सफल संयोजन हो । शिक्षक , वैज्ञानिक डाक्टर ,पाइलट इन्जिनियर वकिल देखि लिएर विभिन्न भूमिकामा रहेका मानिसहरू ऊर्जाकै सहायताले आफ्नो लक्ष्य र कार्य क्षेत्रमा दत्तचित्त छन ।

आफ्नो जीवन सार्थक पार्ने मानिससङ्ग मात्र ऊर्जाको सम्बन्ध छैन यो त भ्रष्ट बेइमान कामचोर , निकम्मा , किकर्तव्यविमूढ सबैसङ्ग ऊर्जाको खजाना रहेको हुन्छ ।कुरा त्यति मात्र हो ऊर्जा गलत ढङ्गले प्रयोग भयो अथवा सही ढङ्गले । ऊर्जाले जति उत्थानमा सहयोग पु-याउछ त्यति पतनको अवस्था पनि सिर्जना गर्छ । यहाँ प्रसङ्ग यो जोड्न खोजिएको हो कि हामी जीवनमा सकारात्मक छौ कि नकारात्मक , आशावादी छौँ कि घोर निरासामा । सम्भावनाका क्षितिज नियाल्दै छौँ या अन्योलको भूमरीमा रुमल्लिदै छौँ ।

समयको रफ्तारसङ्गै वेग हानिरहेका चराहरू नियाल्दै सो अनुसार आफूलाई रुपान्तरित गर्दै छौँ अथवा समय काट्ने सस्ता उपाय अवलम्बन गर्दै छौँ ? ईश्वर प्रदत्त्व भनौ चाहे प्रकृति प्रदत्त्व ऊर्जाको दोहन गर्ने अधिकार हामीलाई पटक्कै छैन । समय र सासलाई सफल बनाउने हो भने आफूमा निहित ऊर्जाको सदुपयोग गर्नु नै बुद्धिमामी हुन्छ । बाल्यकालमा हामी खुब खेल्यौँ तर अव्यस्थित खेल्यौँ यदि व्यवस्थित र नियमसङ्गत निश्चित खेलमा आफ्नो बाल्यकाल बिताएको भए हामी मध्ये धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको रुपमा स्थापित भइसकेका हुनेथियौँ । घाम ताप्दै एक अर्कालाई उडाउदै बस्नुको सट्टा कुटो कोदालो लिएर करेसोबारीमा बिताएको भए तरकारी किन्न हस्याङफस्याङ गर्दै हाट बजार जानुपर्ने थिएन । म्यासेन्जरमा घन्टौ कुरा गरेर समयलाई बर्बाद पार्नुको सट्टा पुस्तक अध्ययन , लेखन वा अन्य सिर्जनात्मक कार्य गरेर बसेको भए कुनै न कुनै उपलब्धि हासिल हुन्थ्यो कि ! अरुको धज्जी उडाउनुको सट्टा आफ्ना कमी कमजोरी खोतल्न लागेको भए अलि फराकिलो गन्तव्यमा पुग्न सकिन्थ्यो कि ।

अर्को विडम्बना भुइ मान्छेको के कुरा सत्ताधारी वा उच्च पदस्थ मानिसहरूले उक्त जीवनको ऊर्जालाई नितान्त व्यक्तिगत अभिष्ट पूरा गर्न लगाइरहेका छन् ।युग परिवर्तनका स्वघोषित नायकहरू समेत व्यक्तिगत आनन्दको चास्नीमा आफुलाई डुबाइरहेका छन् । सत्ता र कुर्सीको घृणित खेलमा आफूलाई अलमल्याइरहेका छन् ।यो दु:खद कुरा हो । प्रजातन्त्र भनौँ लोकतन्त्र भनौ वा गणतन्त्र प्राप्तिको अभ्यासको सुरुवाती समयमा जुन ऊर्जा थियो त्यो ऊर्जा अहिले निष्क्रिय प्रायः बनेको छ । ऊर्जाको क्षयीकरणले गर्दा अन्तर्राष्ट्रिय मंचहरूमा हाम्रा लिडरहरूको बोली लर्बराइरहेको छ । के बोल्ने? कसरी प्रस्तुत हुने? कुनै हेक्का छैन ।यसो हुनुकोकारण देश र जनता माथिकै गद्दारी हो आफूमाथिकै भरोसाको अभाव हो ।जीवनको गति अवरुद्ध हुनु हो । अत: जीवनको अस्तित्वलाई उचाइमा पु-याउने हो भने जीवनलाई लयमा हिडाउनु पर्छ । लयमा हिडाउन जीवन ऊर्जाको भरपुर सदुपयोग गर्नुपर्छ ।

सिनपा -७ , रूपन्देही

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार