नयाँ पुस्तासङ्ग हातमा हात राखेर अघि बढौँ

समाज परिवर्तन , आमूल रुपान्तरण जस्ता शब्दहरु फगत बोल्न वा भन्नका लागि वा आत्मरति साध्न प्रयोग गर्नका निम्ति बनेका होइनन् । यी शब्दले मूर्तरुप तब पाउँछन जब हाम्र अभ्यासहरू सही ढङ्गले अगाडि बढ्छन । यो त न पुरानो पुस्ताले चाहेर मात्र सम्भव छ न नयाँ पुस्ताको वसमा छ । दुवै पुस्ताको अनुभव , कौशल , सामर्थ्य र गतिशीलतबट मात्र यो सम्भव छ ।यही नै सार्थक अभ्यास हो । तर विडम्बना नयाँ पुस्ताको बाटो एकातिर छ भाने पुरानो पुस्ताले आफ्नो पुरानो शैली सोच र चिन्तनलाई समयानुकुल बनाउन सकेको छैन ।

दुवै पुस्ता मेरो गोरुको बा-है टक्का- को अवस्थामा छन ।पुरानो पुस्ताले नयाँ पुस्तालाई फगत अनुभवहीन झुण्डको रुपमा बुझ्ने गम्भीर त्रुटी गर्दछ भने नयाँ पुस्ताले पुरानो पाका पुस्तालाई कपाल फुलेका काम नलाग्ने बुढाहरूको रुपमा मात्रै हेर्छ कि भन्ने आशङ्का पैदा हुन्छ ।यदि यो कुरा सही हो भने गम्भीर त्रुटी यहीँनिर छ ।यही त्रुटीले हाम्रो समाज परिवर्तनको चाहानालाई पछाडि धकल्न बल पु-याएको छ । समाज परिवर्तनको लागि नयाँ पुस्ताभित्र रहेका प्राविधिक ज्ञान सिप , प्रयोगात्मक क्षमताले ठुलो अर्थ राख्छ भने पुरानो पुस्ताका ज्ञान , अनुभव र मार्गदर्शनले धेरै महत्व राख्छ ।तसर्थ पुरानो पुस्ता र नयाँ पुस्ताको सम्बन्ध गुरुचेलाको जस्तो परम्परित ढङ्गको नभै साथीसाथीको जस्तो हुनुपर्छ । वैचारिक अन्तरक्रिया र समसामयिक परिस्थिति र समस्याको निरुपणमा केन्द्रित हुनुपर्दछ । बाबुछोराको सम्बन्ध वा आमाछोरीको सम्बन्ध पनि साथीसाथीको जस्तो भयो भने परिवर्तनको लहर घरैबाट सुरु हुन्छ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ । पुरानो पुस्ताले नयाँ पुस्ताबाट नमस्कार वा मान सम्मानको मात्र आश गरेर बस्ने होइन , पुरानो पुस्ता नयाँ पुस्तासङ्ग विभिन्न बहानामा नजिकिनु पनि आवश्यक छ । उनिहरूका विचार भावनालाई नजिकैबाट नियाल्नु र बुझ्नु जरुरी छ अन्यथा हाम्रा नयाँ पुस्ताको क्षमता र खुबीलाई अरुले नै नजिकबाट बुझ्नेछन् र हामीबाट फुत्काउनेछन् । हाम्रा नयाँ पुस्ताबाट मनग्गे फाइदा लुट्नेछन् ।हामी हेरेको हे-यै हुनेछौं ।

अनि हाम्रो समाज परिवर्तनको चाहना जहाको तहीँ । नयाँ पुस्ताभित जोस जाँगर मात्र होइन कला कौशल सिप र सामर्थ्य छ पुरानो पुस्तामा लामो समयको सफलता अनि असफलताको अनुभव छ । यी दुवैको संयुक्त प्रयाशले यो समाज समृद्धिको बाटोमा अगाडि बढ्न सक्छ । परिवर्तनको बाटोमा लम्किन सक्छ । यो सत्यलाई आत्मसात गर्नुको विकल्प छैन ।एक अर्कालाई दोषारोपण गर्दै हिलो छ्यापाछ्याप गर्नु किमार्थ राम्रो मान्न सकिदैन ।

अहंकारपूर्ण ढङ्गले होइन स्नेहपूर्ण ढङ्गले नयाँ पिंढीसामु प्रस्तुत हुने गरौँ । उनीहरुका कुराको सम्मान गरौँ । उनीहरुका असल विचार र मनसायको खुलेर प्रशंसा गरौँ। आफ्नो बाँसुरीको धुन मात्र सुनाउने होइन उनीहरूको बाँसुरीको धुनको पनि सुन्ने बानीको विकास गरौ ।पुरानो पुस्तालाई विशेष आग्रह । अन्यथा उनीहरुको जोस सडकमा द्रुत गतिमा कुद्ने मोटरसाइकलमा देख्न पाइने छ , ग्याङ फाइटमा भेटिने छ । चुरोटको धुवा र मदिराको मातमा भेटिने छ । वर्तमानमा नयाँ पुस्ता दिग्भ्रमित भएको अवस्था छ । कतै ओभरलोडको जिम्मेवारीले थिचिएको छ भने कतै आफ्नो कला सिप र क्षमता प्रदर्शन गर्न नपाएको अवस्था छ । यो दुवै परिस्थितिबाट सुरक्षित राख्न उसले विदेशतिर जानु नै उत्तम विकल्प ठान्दछ । अनि यसैको परिणाम स्वरूप पासपोर्ट भिसा र पिआरको चक्करमा लाग्दछ । स्वदेशको मोह त्याग्दछ । पराइ भूमिलाई आफ्नो ठान्न थाल्छ । यस्तो अवस्था हुनु विडम्बनाको विषय हो। नयाँ पुस्तासङ्ग दुरी बनाउदाको परिणामले यस्तै अवस्था सिर्जना गर्छ ।नयाँ पुस्तालाई पैसा कमाउने मेसिनको रूपमा हेर्नु पक्कै पनि खेदजनक विषय विषय हो । उनीहरूका सिप क्षमतालाई मलजल गर्न हामीले पटक्कै जानेनौ । उनीहरूलाई यही माटोमा फूल्न र फल्ने वातावरण सिर्जना गर्न सकेनौं । हामीले हिरा दिएर कोइला भित्र्याइरहेका छौ । वास्तवमा हामीले चामलसङ्ग पिठो साटिरहेका छौ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार