दुई जनाको हत्याका आरोपी मृत भेटिए

मृत्यु

रुकुम पूर्व । रुकुम पूर्वको भूमे गाउँपालिका–४ मा दुई जनाको हत्याका आरोपी मृत अवस्थामा फेला परेका छन् ।

साकिम गाउँका ६० वर्षीया ढाटी बुढा र उहाँका नाति आठ महिनाका समिर बुढालाई खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेका भनिएका अन्दाजी ५१ वषीय चन्द्रसिंह पुन मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवराज खरेलका अनुसार हिजो दिउँसो पुनले घरमै पुगेर हजुरआमा र नातिको हत्या गरी फरार भएका थिए ।

आरोपित पुनलाई खोज्दै जाँदा खुलखुले खोलामा मृत भेटिएका हुन् । खुलखुले खोला घटनास्थल साकिमबाट झण्डै आधा घन्टा टाढा पर्छ । डीएसपी खरेलले पुनको टाउकोमा गहिरो चोट देखिएको बताउनुभयो ।

भुमे गाउँपालिका–४ का वडाअध्यक्ष श्यामप्रसाद बुढाले घटनाले गाउँ नै शोकमग्न भएको बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृत भेटिए

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार