राष्ट्रिय स्वतन्त्र पार्टीले दियो सांसदका स्वकीयलाई अभिमुखीकरण तालिम

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) संसदीय दलले सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। सांसदहरूको कार्यसम्पादनलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको पार्टीले जनाएको छ।

रास्वपाका अनुसार संसद केवल सदनभित्रको उपस्थितिमा सीमित नहुने भएकाले जनप्रतिनिधिको प्रभावकारी भूमिकाका लागि सही सूचना, व्यवस्थित समन्वय, जिम्मेवार कार्य टोली र स्पष्ट कार्यप्रणाली आवश्यक पर्ने भएकाले स्वकीय सचिवहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले पार्टीको विचार, संगठनात्मक अनुशासन तथा स्वकीय सचिवहरूको जिम्मेवारी र कर्तव्यबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले सांसद र नागरिकबीचको सम्बन्धलाई सुदृढ बनाउन स्वकीय सचिवहरूको भूमिका महत्वपूर्ण रहने धारणा राख्नुभयो।

त्यसैगरी, सचेतक प्रकाशचन्द्र परियारले संसदीय अभ्यासमा स्वकीय सचिवको भूमिका, यसको महत्व तथा सांसदको कामलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र कार्यशैलीबारे प्रकाश पार्नुभयो।

कार्यक्रममा सचेतक क्रान्तिशिखाले स्वकीय सचिवहरूबाट उठाइएका विभिन्न जिज्ञासा, प्रश्न तथा कार्यक्षेत्रमा देखिने व्यावहारिक चुनौतीहरूमाथि छलफल गर्दै आवश्यक स्पष्टता प्रदान गर्नुभएको थियो।

रास्वपाले यस्ता कार्यक्रमले सांसदहरूको कार्यालय व्यवस्थापन, जनसम्पर्क, सूचना संकलन तथा संसदीय गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation