बाढी पीडितका लागि रुपन्देहीको बुद्ध इङ्लिस स्कुलले जम्मा गर्यो  प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग

सैनामैना। रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ७ देउवापारस्थित बुद्ध इङ्लिस स्कुलले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरेको छ ।

विद्यालयका शिक्षक, विद्यार्थी तथा विद्यालयमा सञ्चालित जुनियर रेडक्रस सर्कलको अगुवाइमा संकलन गरिएको १४ हजार ४५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग स्वरूप जम्मा गरिएको विद्यालयका प्राचार्य लेखनाथ गैरेले जानकारी दिनुभयो।

विद्यालयले रसुवामा आएको विनाशकारी बाढी प्रति गहिरो दुःख व्यक्त गर्दै विद्यालय परिवारले दिवंगत आत्माहरू प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गरेको छ।

साथै, बाढीबाट प्रभावित पीडितहरू प्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहयोगका लागि उक्त रकम संकलन गरिएको विद्यालय प्रशासनले जनाएको हो ।

सहयोग रकम संकलन अभियान विद्यार्थीहरू प्रिया पाण्डे, अर्पिता बस्याल, कमल न्यौपाने, मदन पौडेल र युनिक राना लगायतको सक्रिय भूमिका तथा अगुवाइमा शिक्षक विद्यार्थी तथा रेडक्रस लगायतले सो इच्छाले सहयोग गरेका थिए।

विद्यालयका प्राचार्य लेखनाथ गैरेले विपत्ति र मानवीय संकटका समयमा सहयोग र सेवाभाव आवश्यक रहेको उल्लेख गर्दै विद्यार्थीहरू मानवीय सेवाका कार्यमा सधैँ अग्रसर रहेको बताउनुभयो।

बुद्ध इङ्लिस स्कुलले विपद् तथा सामाजिक सेवाका क्षेत्रमा यसअघि पनि यस्ता विभिन्न मानवीय र सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

विद्यार्थीहरूको सक्रिय सहभागितामा विद्यालयले निरन्तर रूपमा सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग जोडिएका कार्यक्रमहरू अघि बढाइरहेको जनाएको छ।

विद्यालय परिवारले “विपत्तिमा साथ दिऔँ, मानवता जोगाऔँ। हाम्रो सानो सहयोग, पीडितका लागि ठूलो आशा बनोस्।” भन्ने सन्देशसमेत दिएको छ।

विपद

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation