काठमाडौं । आईसीसी महिला यू–१९ टी–२० विश्वकपको तयारीस्वरूप नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीन र भारतमा आयोजना हुने दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रेस विज्ञप्तिमार्फत टोलीको सहभागिताबारे जानकारी दिएको हो।
क्यानका अनुसार नेपाली टोलीले आगामी नोभेम्बर ८, २०२६ देखि चीनमा आयोजना हुने बेल्ट एन्ड रोड यू–१९ गर्ल्स टी–२० आई प्रतियोगिता मा प्रतिस्पर्धा गर्नेछ। उक्त प्रतियोगिताले नेपाली युवा खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

त्यसपछि नेपाली टोलीले नोभेम्बर २० देखि २९, २०२६ सम्म भारतको बेंगलुरुमा आयोजना हुने त्रिकोणात्मक शृंखलामा सहभागिता जनाउनेछ। उक्त प्रतियोगितामा नेपालले भारतका यू–१९ महिला ‘ए’ र ‘बी’ टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
विश्वकपअघि आयोजना हुने यी प्रतियोगिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउनुका साथै टोलीको प्रदर्शन सुधार गर्न र विश्वकपका लागि बलियो तयारी गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
क्यानका सचिव पारस खड्काद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा दुवै प्रतियोगितामा नेपाली टोलीको सहभागिताबारे जानकारी दिइएको छ।










