
काठमाडौं । सामाजिक अभियान्ता आशिका तामाङले जेनजी आन्दोलनमा घाइते हुनेहरु प्रति सरकारले खासै चासो प्रकट नगरेको खुलाएकी छन । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अभियान्ता तामाङले सरकारका तर्फबाट आन्दोलनका शहिद परिवारलाई मात्र निर्णय भए पनि घाइते भाइबहिनीहरूको बारेमा उचित निर्णय नभएको महसुस भएको उल्लेख गरेकी हुन ।
आशिकाले सरकारको कर्तव्य घाइतेहरुलाई निःशुल्क उपचार गर्नु मात्र नभएको बताउँदै घाइतेहरुका परिवार भौतिक, मानसिक र आर्थिक अभावको पीडाबाट गुज्रिरहेको प्रति ध्यानाकर्षण गराएकी हुन ।
सबै उपचार निःशुल्क हुँदैन, औषधि किन्नैपर्छ, ड्रेसिङ गर्न पैसा लाग्छ, बिरामी कुरुवालाई झन् समस्या, कहाँ सुत्ने, कहाँ गएर बस्ने, गाउँबाट आएका, अझ अधिकांश काठमाडौंमा कोठा भाडामा बस्ने, बिहान बेलुका काम गरेर खाने भाइबहिनीहरू रहेको अवस्थामा कसरी चलेको होला ? भन्दै तामाङले प्रश्न चिन्ह समेत खडा गरेको उनको पोष्टमा देख्न सकिन्छ ।
घाइतेहरुले कम्तीमा ३ महिनासम्म राम्रोसँग काम गर्न सक्ने अवस्था नरहेको बताउँदै उनले सरकार समक्ष तीन बुँदामा आफ्ना मागहरु राखेकी छिन । तामाङले जेनजी आन्दोलनमा घाइते हुनेहरुको परिवारलाई तत्काल १ लाख रुपैयाँसम्म उपलब्ध गराउँन, घाइते र वीरगति प्राप्त भाइबहिनीहरूको सम्पूर्ण विवरण सार्वजनिक गर्न र निर्दोष भाइबहिनीहरूलाई गोली हान्न आदेश दिने हत्यारा अपराधीहरूलाई तुरुन्त कारबाही गर्न सरकार समक्ष आग्रह गरेकी छन ।
जेनजी आन्दोलनको घाउमा सुरुवाती चरणबाटै सेवा भाव बोकेर अग्रपंक्तीमा खटिएकी आशिकाले सरकारको यो तत्काल गर्नुपर्ने काम भएको भन्दै यो कार्यलाई छिटो गर्न आग्रह गरेकी छन ।