
काठमाडौं । बन्दीपुर भ्रमण बर्ष २०२५ बारे जानकारी दिन काठमाण्डौमा ‘बन्दीपुर इन काठमाण्डौ’ कार्यक्रम सम्पन्न भएको छ । सोमबार हिजो काठमाण्डौमा बन्दीपुर गाउँपालिका र नेपाल पर्यटन बोर्ड गण्डकीको सहकार्यमा क्षेत्रीय होटल सङ्घ बन्दीपुर एकाइले कार्यक्रम आयोजना गरिएको हो ।
काठमाडौंको लैनचौर स्थित मल्ल होटलमा सम्पन्न कार्यक्रमको अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको थियो । उहाँले आफू एक पटक बन्दिपुर गएको बताउँदै भ्रमण बर्ष २०२५ सफल पार्न पुन बन्दिपुर जाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
पर्यटकलाई तानेर राख्ने राख्ने सार्मथ्य बन्दिपुरमा भएको बताउनुभएका मन्त्री पौडेलले सो क्षेत्रको पर्यटन यात्रा विगतमा आरोह–अवरोहपूर्ण रहे पनि हाल क्रमशः लयमा फर्किएको बताउनुभयो । उहाँले पूर्वाधार निर्माणका लागि सरकारले निरन्तर सहयोग गर्ने पनि जानकारी दिनुभएको हो ।
तनहुँ जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा थप प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कार्यक्रमका संयोजक आशुतोष प्रधानले बन्दीपुरलाई ‘नेपालको पहाडी भेगको लिभिङ म्युजियम’का रूपमा चित्रण गर्नुभएको थियो । उहाँले त्यहाँका पुराना नेवारी शैलीका घर र गल्ली, थानी माई मन्दिर, खड्गदेवी मन्दिर, विशाल टुँडिखेल मैदान, सिद्ध गुफा तथा गुरुङ, नेवार, मगर समुदायको परम्परागत संस्कृति र भोजन पर्यटकका लागि विशेष आकर्षणका रूपमा रहेको बताउनुभयो ।
त्यस्तै, कार्यक्रममा स्वागत मन्तव्य राख्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुर भ्रमण बर्ष २०२५ ले त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने र राजधानीमा आयोजित ‘बन्दीपुर इन काठमाण्डौ’ कार्यक्रमले त्यहाँको सौन्दर्य र सांस्कृतिक सम्पदाको प्रचारप्रसारमा ठूलो योगदान पुग्ने उहाँको विश्वास थियो ।