लागुऔषधसहित पाँच जना पक्राउ

पक्राउ

धनगढी । कैलाली प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट चार ग्राम ९० मिलिग्राम खैरो हेरोइन र पाँच केजी ६९० ग्राम चरेशसहित उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–२ निगर ब्यारेलबाट डोटीको शिखर नगरपालिका–८ घर भइ गोदावरी नगरपालिका–१ बस्ने ३५ वर्षीय वीरबहादुर रावललाई दुई ग्राम ७६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ ।

त्यस्तै, कैलालीको चुरे गाउँपालिका–३ का ३२ वर्षीय मोहन मल्ललाई ५९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ । उनले मोबाइलको खोलभित्र लागुऔषध लुकाएको अवस्थाबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

यसैगरी, बझाङकोे बुङ्गल नगरपालिका घर भइ हाल धनगढी उपमहानरपालिका–२ मा जयराम होटल एण्ड लज रेस्टुरेन्ट चलाउँदै आएका ३२ वर्षीय राम बोहरालाई पाँच केजी ६९० मिलिग्रामसहित पक्राउ गरिएको छ । होटलमा खानतलासी गर्दा चरेश भेटिएपछि सञ्चालक बोहरालाई पक्राउ गरिएको हो ।

धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट सोही ठाउँका २३ वर्षीय विजय विक र धनगढी–७ का प्रदिप रानालाई ७४० ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ । पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीका लागि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार