
धनगढी । कैलाली प्रहरीले कारागार घटनाको अनुसन्धान सुरु गरेको छ । पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो । गएको शुक्रबार राति कैलाली कारागारमा रहेका ब्लक ‘ए’ का कैदीले ब्लक ‘बी’ का कैदीमाथि आक्रमण गरेपछि धनगढीका ४० वर्षीय भरत चौधरीको ज्यान गएको थियो । घटनामा ४७ जना घाइते भएका थिए । मृतकका परिवारले घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सोमबार अपराह्न जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो । “पीडित परिवारका तर्फबाट जाहेरी आएपछि हामीले अनुसन्धान थालेका छौँ,” उहाँले भन्नुभयो । घटनामा संलग्न कैदीबन्दीको अझै पहिचान हुन सकेको छैन ।
यसै गरी आक्रमण गर्ने कति जना थिए भन्ने सङ्ख्या पनि यकिन भएको छैन । १७५ जना कैदी राख्न सकिने कैलाली कारागारमा क्षमताभन्दा ६९९ जनाभन्दा बढी कैदी छन् । ब्लक ‘ए’ मै सबैभन्दा बढी ३९६ कैदी रहेको जनाइएको छ । कारागारमा एक कैदीको ज्यान जाने गरी भएको हिंसात्मक घटना छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति पनि गठन गरिएको छ । समितिले पनि छानबिनको काम सुरु गर्न गइरहेको समितिका सदस्यसचिव एवं जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
क्षमताभन्दा बढी कैदी रहेको कारागारमा विगत केही दिनदेखि नै कैदीबिच झैझगडा, कुटपिट हुँदै आएको थियो । उनीहरूबिच विवाद र कुटाकुट भएपछि जिल्ला सुरक्षा समितिले शुक्रबार दिउँसो ब्लक ‘ए’ र ब्लक ‘बी’ का कैदीलाई सम्झाइबुझाई मेलमिलाप गराएको थियो तर त्यसै राति उनीहरूको विवादले झनै उग्र रूप लिएको थियो । हिंसात्मक झडपमा परेर ज्यान गुमाउनु भएका चौधरीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहतस्वरूप पाँच लाख रुपियाँ राहत सहयोग दिने निर्णय गरेको छ । यसै गरी घाइते सबै कैदीको सरकारी खर्चमा उपचारको व्यवस्था गर्ने जनाइएको छ ।