
वर्षातको समयमा खेतीकिसानी तथा रोपाइँमा व्यस्तताले सरसफाइ क्षेत्रमा कम महत्त्व हुने गर्दछ । जसले गर्दा विभिन्न प्रकारका शारीरिक रुपमा अशक्त हुने तथा शारीरिक समस्या देखापर्छ । जसलाई परम्परागत सामाजिक जनजीवनमा भूत पिशाचको कारण त्यस्तो हुने धारणा समाजमा व्याप्त थियो ।
रोपाइँको समय सकेपछि एकदिन परिवारका सबै नुहाईधुवाई गरेर शरीर शुद्धीकरण गरिन्छ । भर्खरै काटेको गहुँको छ्वाली बालेर धुँवाको माध्यमबाट घरघरका कुना कुनामा रहेका फोहोर तथा लाम्खुट्टे लगायत अन्य रोगजन्य किराफट्याङ्ग्रा नस्ट गर्ने गरिन्छ ।
श्रावण कृष्ण चतुर्दशीका दिन नेपाल मण्डलमा मनाइने चाड गथांमुगः चह्रे हो। यस चाडलाई नेपाल मण्डलमा वर्षदिनमा मनाइने चाडहरुको सुरुवाती चाड मानिन्छ। नेपालमण्डलमा धान रोपाईं जसलाई “सिनाज्या” भनिन्छ, भन्दा अघिको चाड सिथिनख:लाई वर्षको अन्तिम र सिनाज्या पछि मनाइने गथामुंग चह्रेलाई वर्षको पहिलो चाड भनेर मानिँदै आएको छ। त्यस्तै, सिथिनखःलाई महिलाहरुको चाड मानिन्छ भने गथांमुगःलाई पुरुषहरुको चाड मान्ने गरिन्छ।
गथामुंग चह्रे एक प्राचीन कालदेखि चलिआएको पर्व हो। भूत, प्रेत,पिचास आदि नकारात्मक उर्जालाई ठेगान लगाउने चाडको रुपमा यसलाई लिइएको पाइन्छ।
प्राचीन नेवार पर्व गथांमुगःलाई कहीं घण्टाकर्ण त कहीं गठेमंगल ‘न्वारान’ गरी अनेकाैं कथा रच्न थालिएको छ। जुन सर्वदा गलत मात्र होइन, अपव्याख्या पनि हो।
प्रत्येक श्रावण शुक्ल चतुर्दशीका दिन नेवार समाजमा गथांमुगः चाड मनाइन्छ। गथांमुगः सोझै धर्मसँग सम्बन्धित छैन तर अचेल यसबारे थुप्रै कथा बुनिएका छन्।
जस्तो कि ईश्वरको कुरा सुन्न नपरोस् भनेर कानमा घण्ट झुण्ड्याएर हिंड्ने भएकाले गथांमुगः लाई ‘घन्टाकर्ण’ का नाममा बेग्लै न्वारान समेत गरिएको छ। ‘गठेमंगल’ पनि भनिएको सुनिन्छ। तर, यी सबै यो पर्वको सांस्कृतिक विचलन र अपव्याख्या हो।
हिन्दू तथा बौद्ध धर्मसँग सम्बन्धित कतिपय सांस्कृतिक पर्व नेवार समाजमा वेग्लै ढंगले हुर्केको पाइन्छ। यसो हुनुको कारण यहाँको मौलिक मूल्य, मान्यता तथा परम्परा अनुकूल बाह्य संस्कृतिको ग्रहण हो।
वास्तवमा आदिम नेवार संस्कृति बुझ्न गथांमुगः एउटा सांस्कृतिक प्रमाण हुनसक्छ। तर, विभिन्न धर्म विकसित हुनुअघि नै स्थानीयस्तरमा विकसित संस्कृतिलाई के भन्ने ? कसरी विश्लेषण गर्ने? सो विषयमा गहन अध्ययन र विश्लेषण आवश्यक छ ।
हिन्दू तथा बौद्ध धर्मसँग सम्बन्धित कतिपय सांस्कृतिक पर्व नेवार समाजमा वेग्लै ढंगले हुर्केको पाइन्छ। यसो हुनुको कारण यहाँको मौलिक मूल्य, मान्यता तथा परम्परा अनुकूल बाह्य संस्कृतिको ग्रहण हो।
के हो गथांमुगः ?
प्रायः समाजले भूतको अस्तित्व स्वीकारेको पाइन्छ। भूतलाई नकारात्मक शक्तिका रूपमा लिइन्छ तर तन्त्र साधनाबाट भूतलाई वशमा ल्याई समाजको हितमा उपयोग गर्न सकिने सन्देश गथांमुगःले दिन्छ।
प्राचीन कालमा पानी या सरसफाइका कारणले सामान्य पेट दुख्ने या बान्ता हुने समस्या हुँदा पनि ज्ञान या सूचनाको अभावमा मानिसहरूले भूतप्रेत या पिशाचलाई दोष दिने कारणले पनि हुन सक्छ कि हाम्रो संस्कारमा भगवान् र भूत दुवैले उत्तिकै आकर्षण पाएका छन् ।
रोपाइँका चटारोमा श्रमशक्ति अत्यधिक मात्रामा प्रयोग हुँदा विभिन्न किसिमका शारीरिक अस्वस्थता तथा कमजोरीपना देखिन्छ । जसलाई भूत पिशाच भनी मानव बस्तीमा आउने तथा घरघर पस्ने विश्वासको रही आएको छ । तर भूतलाई स्थायी रूपमा घर तथा टोलमा राख्दा अनिष्ट हुने भयले श्रावण कृष्ण चतुर्दशीमा भूतको प्रतिकृतिका रूपमा गथांमुगः बनाई विधिवत् रूपमा विदाइ गरिन्छ।
भूतलाई पूजा गरी विदा गर्ने यो दिन बिहानै नुहाईधुवाई तथा घर सरसफाइ गरिन्छ। फलामको औंठी लगाउनाले भूतबाट छुटकारा पाइने विश्वास पनि पाइन्छ। केही दशकअघिसम्म यही दिन टोलटोलमा फलामको काम गर्ने नकर्मीहरूले फलामको औंठी बेच्ने गर्दथे।
यो दिन बिहानैदेखि टोल–टोलमा नर्कटको मुठाबाट बनाइएको गथांमुगः ठड्याउने गरिन्छ। कुनै टोलमा स्त्री भूत बनाइन्छ भने कुनै टोलमा पुरुष भूत। स्त्री र पुरुष भूत छुट्याउनका लागि योनी र जनेन्द्रियको आकार दिइएको हुन्छ। नाङ्लो वा कागजमा अनुहार लेखेर टाँसिएको पनि देखिन्छ।
भक्तपुरमा भने नर्कट र छ्वालीको प्रयोग गरेर गथांमुगः बनाइन्छ र साँझ नदीकिनारमा सेलाउन लैजाने चलन छ।
टोलटोलमा गथांमुगः बनाउने तथा सेलाउने उपक्रम चलिरहेकै वेला घरका एउटा कुनामा भने लिपपोत गरी छ्वालीका दुई मुठा ठड्याइरहेको हुन्छ। अरू वेला पूजा सामग्रीका रूपमा असामान्य मानिने मासु, रगतको डल्लो, भुस, च्वकाबजि (चिउराको धूलो), विभिन्न वनस्पतिका पात, पीठोको रोटीलगायत भूतको पूजाको लागि नभई नहुने मानिन्छ।
टोलको गथांमुगः सेलाउन लगिसकेपछि घरमा बनाइएको छ्वालीको भूतलाई आगो लगाई बाहिर छ्वासः (प्रायः चौबाटोमा छुट्याइएको सांस्कृतिक स्थल) मा सेलाउन लगिन्छ। सेलाउने व्यक्तिले छ्वाली हातमा लिएदेखि नै पटक–पटक ठूल्ठूलो स्वरमा सम्बोधन गर्दै चौबाटोतर्फ लाग्छन्। अर्को छ्वालीको भूतलाई अरू नै व्यक्तिबाट घरमुनि वा नजिकै ढलमा सेलाइन्छ।
भूत सेलाउने व्यक्तिलाई हात–खुट्टा धोएर, पानीले छर्केर मात्र घरभित्र छिर्न दिइन्छ। घरभित्र समेबजि खुवाउने गरिन्छ। घरको दलानमा स्वकिं वा न्याकिं (तीन मुखी वा पाँच मुखी किला) ठोक्ने काम पनि यही वेला हुन्छ। त्यसपछि ढोका लगाइन्छ। अनि केही बेर घर बाहिर जाने, आउने काम बन्द हुन्छ।
गथांमुगःसँग सम्बन्धित सम्पूर्ण क्रियाकलापमा हिन्दू वा बौद्ध धर्मको कुनै पनि प्रभाव पाइँदैन। तर हिन्दू, बौद्ध सबैले परम्परागत रूपमा यो चाड मनाउँदै आएको पाइन्छ।
गथांमुगः संस्कृतिमा आदिम संस्कृतिको झलक देखिन्छ। यही झलक वा प्रभावबाट नेवार समाजमा प्रचलित अन्य चाडवाड तथा धार्मिक अभ्यासहरू निर्देशित हुने गर्दछ।
नेपाल मण्डल कृषि प्रधान क्षेत्र हो। पाँहाचह्रे अर्थात् घोडेजात्रा पछि खेत जोत्ने, धानको बीउ राख्ने, धान रोप्ने आदि काम गर्नेहरुलाई अनेक रोग, दुःख कष्ट दिने नकारात्मक शक्तिहरुलाई धान रोपाई सकेपछि मन्त्रको बलले तानेर भूतप्रेतको मूर्तिमा प्रतिस्थापन गरी शहर भन्दा बाहिर फाल्न लाने प्रचलन नै गथांमुगः चह्रे हो। यसले गर्दा देशमा रोग व्याधि शान्त हुन्छ भन्ने विश्वास छ।
गथांमुगः चह्रे कुनै ठूलो चाड पनि होइन, न कुनै जात्रा उत्सव नै हो। तर पनि नेपालीहरुको जीवनमा यसको छाप अनौठो छ। यो चाड हिन्दु वा बौद्ध, जुनसुकै धर्म मान्नेले पनि मनाउँछन्। नेपालका कतिपय रीतिथितिहरु हराएर गइसके। तर आदिमकालदेखि गथांमुगःको प्रतिक नग्न मूर्ति
बनाउने र उक्त मूर्ति बनाउँदा स्थानिय तवरमा पाइने नरकट वा छ्वालीको प्रयोग अपरिवर्तनीयरुपमा रहिआएको छ।यसै गरी गथांमुगः चह्रेको दिन सम्ममा रोपाईका सबै काम सकाइसक्नुपर्छ। यसलाई सिनाज्या ब्यंकेगु अर्थात् रोपाई कार्य सकाउने भनिन्छ। यदि नसकिएको खण्डमा गथांमुगः चह्रेको दिन रोकेर भएपनि यो चाड मनाउनुपर्छ। यो चाड मनाउन सकिएन भने अन्य चाडहरु मनाउन पाइदैन भन्ने मान्यता छ। यस चाड पछि अन्य चाडहरु एक दुई हप्ताको अन्तरालमा आउँदै गर्छन्।
भलभल अस्तमीमा थन्क्याइएको बाजागाजा गथांमुगः चह्रेको दिनदेखि बाजागाजा निकाली यसको अभ्यास गर्ने कार्य सुरु गरिन्छ।