
शिब अधिकारी, काठमाडौं । सनातन गौ संरक्षण अभियान यूएईको आयोजनामा “सनातन धर्ममा गौ” बिषयक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । साउन ४ गते आइतबारका दिन प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता विद्युतीय सम्मेलन प्रणाली अर्थात (जुम भर्चुअल मिटिङ्गको माध्यमद्वारा सञ्चालन हुने आयोजकले जनाएको छ भने कक्षा ७ देखि १० सम्म तथा माध्यमिक शिक्षा परिक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरुले भाग लिन सक्नेछन ।
प्रतियोगितामा सहभागिता जनाउन चाहाने विद्यार्थीले साउन ३ गते दिनको २ बजेसम्म नाम दर्ता गराउन पाउने व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको समय अवधि भने सहभागी सदस्य संख्याको आधारमा तय गरिने खुलाइएको छ ।
प्रतियोगितामा सहभागी हुन विद्यार्थीले विद्यालय, आफूले पढ्दै गरेको कक्षा र विद्यालयको प्राधानाध्यापकको नाम सहित आफ्नो नाम, उमेर समेत उल्लेख गरि एउटा पासपोर्ट साइजको फोटो समेत उपलब्ध गराउनुपर्ने छ भने गोत्र अनिवार्य गरिएको सनातन गौ संरक्षण अभियान यूएईद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
प्रतियोगीले कुनै पुस्तक अथवा लेखलाई हेरेर बोल्न नपाईने र बढिमा ८ मिनेटमा आफ्नो प्रस्तुती राख्नुपर्ने जारी सूचनामा उल्लेख गरिएको छ । आफ्नो पालो आउनु भन्दा अघि नै श्रोता वा वक्तृत्वकलामा सहभागी विद्यार्थीको तर्फबाट अवरोध हुन आएमा निर्णायक मण्डली वा सभाध्यक्षको अनुमति लिएर कार्यक्रम संचालकले उक्त सभाबाट प्रतियोगीलाई हटाउन पनि सक्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले पन्ध्र हजार रुपैयाँ, दोस्रो हुनेले एघार हजार रुपैयाँ, तेस्रो हुनेले सात हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्नेले ५ जना विद्यार्थीलाई एक हजारका दरले पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजकको भनाई छ ।