
काठमाडौं । लोकप्रिय लोकगायक पशुपति शर्माको स्वर, शब्द र संगीतमा तयार भएको नयाँ व्यङ्ग्यात्मक गीत “झोले त तै, झोले त मै” सार्वजनिक भएको छ। समसामयिक राजनीतिक र सामाजिक विषयवस्तुलाई हास्य व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरिएको गीत गायक पशुपति शर्माको युट्युव च्यानल मार्फत बजारमा ल्याइएको हो ।
कृष्ण केसीको संगीत संयोजन रहेको गीतको मिक्सिङ एचबीएन किस्मत ले गरेका छन् भने रेकर्डिस्टको रूपमा राज खड्का संलग्न रहेका छन्।
गीतको भिडियो पक्ष पनि आकर्षक छ। यसमा गायक पशुपति शर्मा र जेरी भण्डारीको अभिनय देख्न सकिन्छ । जेरी भण्डारीकै निर्देशनमा तयार पारिएको गीतको कथा लेखक र कोरियोग्राफरका रुपमा पनि भण्डारी आफै देखिएका छन ।
भिडियो निर्माणमा अमर रावल “कोसिस”ले सहायक कोरियोग्राफर र उत्पादन प्रबन्धकको रूपमा योगदान दिएका छन्।
गीतमा छायांकन (सिनेमाटोग्राफी) नवराज उप्रेती एण्ड टिमको रहेको छ। भिडियोको कलात्मकता र छायांकनले गीतको भावलाई थप प्रस्ट रूपमा व्यक्त गरेको देखिन्छ।
गीतले “झोले” शब्द प्रयोग गर्दै वर्तमान राजनीतिक अवस्थालाई व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गरेको छ। विशेषगरी चुनावी नाराहरू, नेताहरूको व्यवहार र जनभावनालाई सरल भाषामा कटाक्ष गर्दै जनमानसमा संदेश दिन खोजिएको छ।
भिडियोको दृश्य सामग्रीले गीतलाई थप सजीव बनाएको छ।