
काठमाडौं । म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार ८ सय ८६ पुगेको छ। भूकम्पमा परी ४ हजार ६ सय ३९ जना घाइते भएका छन् भने ३ सय ७३ अझै बेपत्ता रहेका छन् ।
गत शुक्रबार म्यानमारमा ७.९ म्याग्निच्युडको भूकम्प गएको थियो । म्यान्माको दोस्रो ठूलो सहर मण्डले भूकम्पबाट सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक हो । यहाँ तीन दिनदेखि हजारौं मानिसहरू सडकमा रात बिताउन बाध्य छन् । कतिपय आफ्नो घर भत्किएकाले फर्कन सकेका छैनन् भने कतिपय पुनः कम्पनको डरले बाहिरै बसिरहेका छन्। केहि मानिसहरूसँग टेन्ट भए पनि धेरैजना सडकमा मात्र ओछ्यान बिछ्याएर रात काटिरहेका छन् ।
मण्डलेको मुख्य अस्पताल क्षतिग्रस्त भएपछि बिरामीहरूलाई बाहिरै उपचार गरिँदै छ । अस्पतालको पार्किङस्थलमा बिरामीहरूलाई टेन्टभित्र राखिएको छ । गर्मीका कारण उपचारमा थप समस्या भएको छ ।
भूकम्पको असर म्यान्मा सीमित नभई छिमेकी देशहरूमा पनि परेको छ । थाइल्यान्डको राजधानी बैङ्ककमा भूकम्पको झट्काले एक ३०–तले भवन भत्किँदा १९ जनाको मृत्यु भएको छ । चीनका तीन नागरिक र दुई जना फ्रान्सेली नागरिक पनि मृतकहरूको सूचीमा परेका छन् ।
चार वर्षदेखिको गृहयुद्धका कारण आर्थिक र स्वास्थ्य प्रणाली नै धरासायी भएको म्यान्माले अन्तर्राष्ट्रिय सहायता मागेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आपत्कालीन सहायता घोषणा गर्दै आगामी ३० दिनभित्र आठ लाख अमेरिकी डलर सहयोग आवश्यक पर्ने बताएको छ । रेडक्रसले पनि १०० मिलियन डलरभन्दा बढी सहयोगको अपिल गरेको छ ।