काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘इनम प्रकरण’ मा उठेका प्रश्नको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद् अग्रसर हुनुपर्ने बताएका छन् ।
शर्माले इनम सापकोटाकी श्रीमतीले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको उजुरीमा उल्लेखित विषयको वास्तविकता सार्वजनिक गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।
उनले घटनाको वास्तविकता पत्ता लगाउन संसद्ले नै पहल गर्नुपर्ने र निष्पक्ष छानबिनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
सोही विषयमा कांग्रेस महामन्त्री डा.डीला संग्रौला पन्तले आरोप पुष्टि गर्न यातनाको सहारा लिइनु र परिवारलाई त्रसित बनाइनु गम्भीर मानवअधिकार हननको विषय भएको बताएकी छन् । ‘यस्ता घटनाले न्याय प्रणालीप्रतिको जनविश्वास कमजोर बनाउँछ। त्यसैले मानवअधिकार आयोग, नागरिक समाज र सरकारले इनम सापकोटा प्रकरणको गहिरो अनुसन्धान गरी पीडितलाई न्याय दिलाउन तत्काल कदम चाल्नुपर्छ’, उनले लेखेकी छन् ।










