विश्वप्रकाश शर्माको प्रधानमन्त्रीलाई प्रश्न : गगन थापा विरुद्ध बयान नदिए इनम सापकोटालाई फसाइदिने धम्की दिनुभएको हो

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘इनम प्रकरण’ मा उठेका प्रश्नको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद् अग्रसर हुनुपर्ने बताएका छन् ।

शर्माले इनम सापकोटाकी श्रीमतीले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको उजुरीमा उल्लेखित विषयको वास्तविकता सार्वजनिक गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।

उनले कांग्रेस सभापति गगन थापालगायतका व्यक्तिविरुद्ध बयान दिए छाडिदिने, नत्र फसाइदिने धम्की दिइएको भन्ने उजुरीमा उल्लेखित विषयको सत्यतथ्य स्पष्ट पार्नुपर्ने बताएका छन् ।
उक्त उजुरी झुटो हो वा राज्यको आडमा अपराधका योजना बनिरहेका छन् भन्ने प्रश्नसमेत उनले उठाएका छन् ।
शर्माले पारदर्शितालाई लोकतन्त्रको आधारभूत स्तम्भ भन्दै यस प्रकरणलाई रहस्यपूर्ण घटनाका रूपमा मात्र सीमित गर्न नहुने बताएका छन् । नागरिकले घटनासँग जोडिएका सम्पूर्ण सत्यतथ्य जान्न पाउनुपर्ने उनको भनाइ छ ।
‘षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दैछन्, अब पर्दा पूरै च्यातिनुपर्छ,’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले घटनाको वास्तविकता पत्ता लगाउन संसद्ले नै पहल गर्नुपर्ने र निष्पक्ष छानबिनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

सोही विषयमा कांग्रेस महामन्त्री डा.डीला संग्रौला पन्तले आरोप पुष्टि गर्न यातनाको सहारा लिइनु र परिवारलाई त्रसित बनाइनु गम्भीर मानवअधिकार हननको विषय भएको बताएकी छन् । ‘यस्ता घटनाले न्याय प्रणालीप्रतिको जनविश्वास कमजोर बनाउँछ। त्यसैले मानवअधिकार आयोग, नागरिक समाज र सरकारले इनम सापकोटा प्रकरणको गहिरो अनुसन्धान गरी पीडितलाई न्याय दिलाउन तत्काल कदम चाल्नुपर्छ’, उनले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation