काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीहरु आन्दोलित भएका छन् ।
शुक्रबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ऐन तथा नियमावलीका सम्बन्धमा सरोकारवालाहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याइएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नैतिक जिम्मेवारी लिई तत्काल राजीनामा दिन माग समेत उनीहरुले गरे ।
प्रतिष्ठानको प्रांगणमा प्लेकार्डसहित प्रदर्शन गर्दै उनीहरुले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ऐन तथा नियमावली सरोकारवालाहरुसँग छलफल नगरी ल्याइएको र आफ्ना सुझावहरु बेवास्ता गरिएको गुनासो गरे ।
अध्यादेश र नियमावलीका नाममा भएको मनोमानी बन्द गर्नुपर्ने तथा संस्थामाथि मन्त्रालय र मन्त्रीको दबाब रोक्नुपर्ने कर्मचारीहरुको माग छ ।
सरोकारवालाको सहभागितामा विज्ञानमैत्री ऐन, नियमावली र नीति बनाउन, संस्थाको सक्षम नेतृत्व खुला विज्ञापन र प्रतिष्पर्धाबाट चयन गर्न पनि कर्मचारीहरुले माग गरेका छन् ।










