काठमाडौं । प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘सारथी’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। मंगलबार सेन्सर बोर्डले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेसँगै अब सबै उमेर समूहका दर्शकले चलचित्र हेर्न पाउने भएका छन्।
आगामी शुक्रबार अर्थात् मङ्सिर ११ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रलाई सेन्सर बोर्डका पदाधिकारीहरूले पारिवारिक कथावस्तु र प्रस्तुतिका हिसाबले प्रशंसा गरेको निर्देशक कुमार गजुरेलले जानकारी दिएका छन्।
चलचित्रका टिजर, गीत तथा ट्रेलर सार्वजनिक भएसँगै दर्शकमाझ पनि ‘सारथी’ले राम्रो चासो प्राप्त गरिरहेको निर्माण पक्षको भनाइ छ।
चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, गायत्री जोशी र गिरी विश्वकर्माको मुख्य भूमिका रहेको छ। त्यस्तै मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा र मदन थापालगायतका कलाकारको अभिनय देख्न सकिनेछ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन्। चलचित्रमा रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता तथा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माताका रूपमा रहेका छन्।
संकल्प भुजेलको छायांकन रहेको चलचित्रमा बाबुल गिरी र प्रशान्त शिवाकोटीले संगीत दिएका छन्। पारिवारिक कथावस्तुमा आधारित ‘सारथी’ले प्रदर्शनपछि दर्शकको कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो बढेको छ।










