काठमाडौं । भारतको सिक्किमस्थित मंगन जिल्ला आसपास केन्द्रविन्दु बनाएर आज बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार नेपाली समयअनुसार बिहान करिब ६:४५ बजे भूकम्प गएको हो। भूकम्पको धक्का नेपालको कोशी प्रदेशका केही जिल्लामा समेत महसुस गरिएको छ।
यूएसजीएसका अनुसार भूकम्पको केन्द्रविन्दु मंगन क्षेत्रबाट करिब ६७ किलोमिटर टाढा रहेको थियो। भूकम्प १० किलोमिटर गहिराइमा गएको जनाइएको छ।
भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भए/नभएको विवरण भने हालसम्म प्राप्त भएको छैन।
भारतको सिक्किम राज्यको उत्तरी भागमा पर्ने मंगन क्षेत्र टिस्टा नदी आसपास अवस्थित छ। क्षेत्रफलका आधारमा मंगन सिक्किमकै सबैभन्दा ठूलो जिल्ला हो। यो जिल्ला सडकमार्गबाट राज्यको राजधानी गान्तोकसँग जोडिएको छ।
मंगनबाट उत्तरी सिक्किमका चर्चित पर्यटकीय गन्तव्य लाचुङ, चुङथाङ र लाचेन पुग्न सकिन्छ। हिमाली भूभागमा अवस्थित यो क्षेत्र तिब्बती पठारतर्फको प्रवेशद्वारका रूपमा समेत परिचित छ।










