आगो तापेर बसेका साथिहरु अगुल्टो हानाहान गरेपछि प्रहरीले चलायो गोली

काठमाडौं । बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानीमा लागेको मेलामा दुई समूहबीच झडप हुँदा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीका अनुसार झडप नियन्त्रणमा लिन प्रहरीले बिहान पौने ४ बजेतिर इन्सास राइफलबाट ८ राउण्ड हवाई फायर गरेको हो।

चिसापानीमा लागेको मेलामा राति आगो तापेर बसिरहेका दुई समूहका युवाबीच विवाद भएपछि झडप भएको थियो। झडपका क्रममा ढुंगामुढा हुनुका साथै अगुल्टोसमेत प्रहार भएको बताइएको छ।

झडप नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि समेत आक्रमण भएको थियो। घटनामा प्रहरी सहायक निरीक्षक (सई) सहित चार जना प्रहरी घाइते भएका छन्।

झडपमा परी एक जना सर्वसाधारण पनि घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सम्भावित मानवीय क्षति रोक्न प्रहरीले हवाई फायर गर्नुपरेको जनाएको छ। उक्त मेला जागरण युवा क्लब चिसापानी, बाँकेको आयोजनामा सञ्चालन भइरहेको थियो

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation