
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझा नियुक्त भएका छन् ।
मन्त्रिपरिषदको आज बसेको बैठकले ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । योसँगै प्राधिकरणको इतिहासमै कान्छो अध्यक्षका रुपमा ३३ वर्षिय ओझा नियुक्त भएका छन् ।
अध्यक्ष नियुक्तिका लागि सरकारद्वारा गठित सिफारिस समितिले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाको नाम मन्त्रिपरिषदसमक्ष सिफारिस गरेको थियो ।कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता फागुन १० गते अर्थ मन्त्रालयमा गरिएको थियो ।
समितिको गत फागुन ४ गतेको निर्णयानुसार सर्टलिस्टमा कमलप्रसाद रेग्मी, चिरिञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा परेका थिए । कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि प्राप्त अंकका आधारमा पहिलो नम्बरमा शरद ओझा, दोस्रोमा रामशरण पुडासैनी र तेस्रोमा दामोदर बस्यौलाको नाम सिफारिस गरिएको थियो ।
मन्त्रिपरिषदको बैठक सोमबार साँझ बालुवाटारमा बसेको थियो । मन्त्रिपरिषद्को बैठकले ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। सम्भवतः ओझाले भोलि प्राधिरणको अध्यक्षको शपथ ग्रहण गरेर कार्यभार सम्हाल्नेछन्।
ओझा स्नातक तहमा व्यवस्थापनसम्बन्धी विषयको अध्यापन गर्छन् भने अधिवक्ता, वित्त परामर्शदाता र पूर्वपत्रकार पनि हुन् ।
यसअघिका अध्यक्ष सूर्य सिलवालविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेपछि उनी पदबाट स्वतः निलम्बन भएका थिए । त्यससँगै रिक्त रहेको प्राधिकरणको अध्यक्ष नियुक्तिका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले गत पुस २६ गते १५ दिनको समय राखेर आवेदन आह्वान गरेको थियो ।