
नवलपरासी पूर्व । प्रथम सर्दी कप खुल्ला भलिबल प्रतियोगिताको दोस्रो दिन बुधबार (आज) तीन खेल सम्पन्न भएका छन् । विनयी त्रिवेणी ३ सर्दी स्थित कटिवाँसघारीमा हिजो बाट सुरु भएको प्रतियोगिता अन्तर्गत आज तीन खेल सम्पन्न भएका हुन ।
आज भएको पहिलो खेलमा स्याङजा र सर्दी, दोस्रो खेलमा जीएम समाज र आयोजक र्सिजनशील युवा क्लब तथा तेस्रो खेलमा पाल्पा र न्यू होराईजन खेलेका थिए । पहिलो खेल स्याङजा, दोस्रो खेल जीएम समाज र तेस्रो खेल पाल्पाले आफ्नो पक्षमा पारेका छन् ।
स्याङजाले २-० को सोझो सेटमा सर्दीलाई हराएको हो । उसले पहिलो सेट २५-११ तथा दोस्रो सेट २५-७ ले जितेको थियो । २-० को सोझो सेटमै सकिएको दोस्रो खेलमा जीएम समाजले आयोजक र्सिजनशील युवा क्लबलाई २५-१४ र २५-१७ ले हरायो ।
त्यस्तै निकै प्रतिस्पर्धात्मक भएको तेस्रो खेल भने २-१ को सेटमा सम्पन्न भएको थियो । पहिलो सेट २६-२४ ले जितेको न्यू होराईजनले बाँकीका दुई सेट भने गुमायो । दोस्रो सेटमा पाल्पाले २५-२१ र तेस्रो सेटमा २५-२३ ले होराईजनलाई हराउँदै खेल आफ्नो पक्षमा पार्यो ।
प्रतियोगिता फागुन ९ गतेसम्म चल्ने आयोजक सिर्जनशिल युवा क्लबले जनाएको छ । भोलि हुने पहिलो खेलमा मणिमुकुन्द भलिबल क्लबले न्यू होराईजनसँग खेल्ने तालिका रहेको छ ।